
हरीकृष्ण रावल
हरीकृष्ण रावल प्याराग्लाइडिङ् पाइलट हुन् । २०७८ साल चैत्र २७ गतेदेखी वीरेन्द्रनगर १४ को गोठीकाँडाबाट प्याराग्लाइडिङ् उडान सुरु गरेका हरी कर्णालीलाई पर्यटकिय क्षेत्रका रुपमा परिचित गराउनकै लागि प्याराग्लाइडिङ् पाइलटको रुपमा काम गर्दै आएका हुन् ।
उसो त उनको बाल्यकालको सपना भने प्याराग्लाइडिङ होइन ।
वयलकम प्याराग्लाइडिङ् प्रा.ली सञ्चालन गरी उनले हाल कर्णालीमा पहिलो पटक यो सेवा सुरु गरेका हुन् । द.बावु सुनुवार, पदम शाही र उनको ४५ लाखको संयुक्त लगानीमा कर्णालीको राजधानी वीरेन्द्रनगर १४ गोठीकाँडाबाट प्याराग्लाइडिङ् सेवा सुरु गरिएको छ ।
छायाँनाथ–रारा नगरपालिका–८ मुगुमा जन्मिएका ३० वर्षीय हरीकृष्णको बाल्यकालको सपना भने प्याराग्लाइडिङ् पाइलट बन्ने नभई शिक्षक बन्ने थियो ।
कर्णालीको गरिबी र पछौटेपनको कारण अशिक्षा हो भन्ने बुझेका हरीकृष्ण डेढ वर्षदेखी बाल्यकालको सपना मारेर कर्णाली चिनाउने अभियानमा छन् ।
उनी भन्छन् “प्राकृतिक सुन्दरताको धनी देश नेपाल र विशेषगरी कर्णाली चिनाउन मैले यो पेशा रोजेको हुँ । कर्णालीमा जती पछौटेपन छ त्यति सुन्दरताको खानी पनि छ ।”
बुवा हरीसिंह रावल र आमा बेला रावलको कान्छो सन्तानका रुपमा जन्मिएका हरीकृष्णले २०६४ सालमा एलएलसी पास गरे । शिक्षक बनेर साबिकको कर्णालीका बालबालिकाहरुलाई शिक्षित बनाउने उदेश्य बोकेका हरीले २०६९ सालमा नि.मा.वि. तहको लाईसेन्स पास गरे ।
निम्न माध्यामीक तहको लाईसेन्स पास गरेका हरी सेवाका लागि घर नजिकैको विद्यालयमा त गए तर उनलाई राजनितिक कारणले विद्यालयमा सेवा गर्ने मौका दिइएन । त्यसपछि उनको शिक्षक बन्ने सपना म¥र्यो ।
शिक्षक बन्ने सपना मारेर कलाकार
हरी जती शिक्षण पेशालाई सम्मान गर्थे त्यती कलाकारिता क्षेत्रलाई पनि । शिक्षक बनेर गाउँमा सेवा गर्न नपाएपछि हरीका पाइला मोडिए । उनी कलाकारिता क्षेत्र अंगाल्न थाले ।
बागेश्वरी क्याम्पस कोहलपुर बाँकेबाट स्नातक तह पास गरेर कलाकारिता क्षेत्रमा छिरेका हरिले चारवटा एल्बम् बजारमा ल्याईसकेका छन् ।
शब्द रचना र आँफैले स्वर भरेका गितहरुमा पनि उनले कर्णाली नै चिनाउँछन् । कर्णाली प्रदेशको सुन्दरतालाई नै संगित भरेर बजारमा ल्याउने गरेको उनी सुनाउँछन् ।
‘कर्णालीमा थुप्रै नदेखिएका र नलेखिएका सुन्दरताहरु छन्’ उनी थप्छन्“ कर्णाली चिनाउने अभियानमा छु । गितसंगितमा पनि कर्णालीलाई नै लेख्छु र कर्णालीलाई नै गाउँछु ।”
जब सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा ग¥र्यो कर्णाली चिनाउने हुटहुटी चल्यो
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेदेखी नै हरीकृष्णलाई कर्णाली चिनाउने हुटहुटी चलेको थियो ।
कर्णाली प्रदेश सरकारले समेत कर्णाली भिजिटका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्न थालेपछि उनको भेट द बाबु सुनुवार संग भयो । जसका कारण आज हरीकृष्ण प्याराग्लाईडिङ् पाइलट बन्न सफल भएका छन् । यो क्षेत्रको संघर्ष त छँदैछ ।
प्याराग्लाईडिङ्को सामान्य ज्ञान समेत नभएका हरीकृष्णले स्याङ्जा जिल्लामा गएर प्याराग्लाईडिङ सम्बन्धि १५ दिनको वेसिक कोर्स सिके । १५ दिनको कोर्सका लागि उनले २ लाख ८० हजार खर्च गरे ।
उनी सुनाउँछन्“ प्याराग्लाईडिङ् साहसिक खेल हो । प्याराग्लाईडिङ्बाट आकाशमा उड्दै प्रकृतीको सुन्दरता नियाल्न पाइन्छ ।”
उनले करिब चारसय स्वदेशी र विदेशी पर्यटक नेपालका विभिन्न आकाश विशेषगरी पोखरामा उडाइसकेको बताउँछन् ।
हरीले अझै पाइलट कोर्ष भने पुरा गरिसकेका छैनन् । अहिलेसम्म पनि सोलो पाइलटकै रुपमा उनले काम गर्दै आएका छन् । ट्यान्डम पाइलट बन्नका लागि उनले अझै डेढ वर्ष कोर्ष गर्न बाँकी छ । प्याराग्लाईडिङ् ट्यान्डम कोर्ष चारवर्षको हुन्छ ।
प्याराग्लाईडिङ् गराउदाँ कहिलेकाँही हावामा डिस्व्यालेन्स हुने,ल्यान्डिङ्गको असुविधा हुने उनको अनुभव छ ।
कर्णाली प्रदेश सरकारसंग जमिन माग गरेपनि कुनै प्रतिक्रिया नआएको उनी सुनाउँछन् ।
खाँडीमा जानुभन्दा देशलाई चिनाऔँ
पर्यटन क्षेत्रको राम्रो विकास गर्न सके नेपाली युवाहरु खाँडी जान नपर्ने उनी बताउँछन् । नेपालका राम्रा पर्यटकिय क्षेत्रको परिचय मात्र दिए थुप्रै विदेशी डलर लिएर नेपाल आउने उनी तर्क गर्छन् ।
रुचि र इमान्दारिता भए सफल भइने भन्दै हरीकृष्ण आँफुजस्तै युवाहरुले नै देशको सुन्दरता चिनाउनुपर्ने बताउँछन् ।
एकवर्षको उमेरमा बुवा गुमाएका हरीकृष्णले रारामा भिजिट रारा कर्णाली रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका छन् ।
उनी आफुलाई ट्यान्डम पाइलट बनाएर कर्णाली प्रदेशका उत्कृष्ट पर्यटकिय स्थल रारा ताल, शे–फोक्सुण्डो ताल, सिस्ने हिमाल लगाएतका क्षेत्रलाई अझै चिनाउन चाहेको बताउँछन् ।


ललिता विश्वकर्मा ओड १४ श्रावण २०७९, शनिबार ०८:३२