बुर्का र तिन तलाखभित्र उनले आफ्ना समुदायका महिलाहरुको पिडा जबदेखी महशुष गर्न थालिन् त्यसका विरुद्धमा उनी उभिन थालिन् । कालो घुम्टो भित्रको मुस्लिम महिलाहरुको पिडा र त्यो भन्दा पनि श्रीमान्ले तिन पटक तलाख तलाख तलाख भनेपछि हुने सम्बन्ध विच्छेदका विरुद्धमा खैरुन निशा उभिन थालेको तिन दशक भन्दा बढी भयो ।
महिलाहरु घुम्टो ओढेर घर भित्रै बस्नु पर्ने, परिवार नियोजन गर्नु पाप ठान्ने, श्रीमान्लाई चित्त नबुझे तिन तलाख दिने जस्ता प्रचलनका विरुद्धमा उनी बोलेदेखीनै मुस्लिम समुदायका महिलाहरु स्वतन्त्र भएका हुन् ।
खैरुन् निशा वीरेन्द्रनगर १० बेलघारीमा बस्छिन् । मुस्लिम महिला अधिकारकर्मीसंगै उनी स्वास्थ्य स्वयंसेवीका समेत हुन । २०५२ सालदेखि स्वास्थ्य स्वयंसेवीका भएर समाज सेवा गर्दै आएकी खैरुन विशेष गरी मुस्लिम समुदायको आवाज बनेकी छन् ।
बुवा मदार बक्स र आमा जोहोरा विविको कोखबाट कान्छो सन्तानको रूपमा वि. स. २०२८ साल असोज २३ गते उनी जन्मिएकी हुन् । वीरेन्द्रनगर नगरपालिका ११ गाग्रेतालमा जन्मिएकी उनीे वीरेन्द्रनगर नगरपालिका वडा नं १० बेलघारीमा बस्दै आएकी छन् ।
बालापनमा सार्है लजालु स्वभावकी उनी कसैसंग बोल्न पनि एकदमै डर मान्ने गर्थिन् । निशाको बाल्यकाल निकै दुखद् रूपमा बित्यो । आँफु सानै हुँदा बुवाले अर्को बिहे गरेर अन्तै गएर बस्नु भयो । आमा, दाई र उनको जिवन असहज भयो ।
बुवाले अर्को विवाह गरेर गएपनि उनकी आमा नै उनको साहारा थिईन् । तर जब खैरुन् १३ वर्षकी थिइन् आमाको मृगौला फेलका कारण मृत्यु भयो । उपचार गर्ने रकम अभावकै कारण आमा गुमाएकी उनी जिवन गुजारा गर्नका लागि गाईगोरु गोठाला गर्न थालिन् ।
धेरै पढेर जागिर खाने सपना बोकेकी निशाका लागि त्यो सपना सपनामै सीमित रह्यो । निशाले आफ्नो पढाइलाई निरन्तरता दिन पाइनन् । गाईगोठाला गर्दै कक्षा पाँच सम्म मात्र उनले पढ्न पाइन् ।
विवाहपछि फेरिएको खैरुनको जिवन
खैरुन् निशाले २०४१ सालमा मोहमत इसाकदीन सँग विवाह गरिन् । आमा गुमाएपछि एक्लो बनेकी उनको त्यो विवाह रहर नभई बाध्यता थियो । तर विवाहपछि नै उनको जिवनले पालुवा फे¥र्यो । निशा भन्छिन्, ‘नेपाली समाजमा महिलालाई धेरैनै हिंसा गर्ने समाज हो । त्यसैमा मुस्लिम समुदायमा त महिलालाई खुट्टाको धूलो सरह पनि नठान्ने समाज हो । मेरो जिवनमा त्यस्तो भोग्नु परेन । विवाहपछि मैले घरायसी कामकाजमा आफूलाई व्यस्त राख्थेँ ।’
समुदायमा धेरै नै घरेलु हिंसा हुने गरेको र मुस्लिम समुदायमा पुरुषहरूले महिलालाई पशुसरह कुट्ने पिट्ने गरेको दृश्य उनले सहन्नथिन् ।
त्यति धेरै कानुनका कुरा नजानेकी तर समाजमा भएका घटनालाई बाहिर निकाल्नु पर्छ भन्ने सोच उनको मनमा लागिरहन्थ्यो । परिवार , त्यसमा पनि श्रीमान्को साथ पाएपछि उनले समाजमा नराम्रा कुप्रथाका विरुद्ध बिस्तारै आवाज उठाउन थालिन् । उनको आवाज बिस्तारै अन्य महिलाहरु हुँदै समाज परिवर्तनको हिस्सा बन्न पुग्यो ।
खैरुन् जब स्वयम्सेविका बनिन्
उनी २०५२ सालमा स्वास्थ्य स्वयमसेविकाको रुपमा काम गर्न थालिन् । त्यो दिनदेखि समाजमा भएका कुरितिलाई अन्त्य गर्ने अठोट समेत गरिन् । स्वास्थ्य स्वयमसेविका भएपछि उनले स्वास्थ्य क्षेत्रमा अनुभव बटुल्दै गइन् । त्यो सँगै सामाजिक क्षेत्रमा काम गर्न थालिन् । मुस्लिम समुदायमा रहेका तलाख प्रथा, घुम्टो प्रथा, परिवार नियोजनका साधनहरू प्रयोग नगर्ने खालका कुसंस्कारको अन्त्यका लागि वीरेन्द्रनगर सुर्खेतबाट एकल नेतृत्व कर्ता भएर समाजलाई परिवर्तन गर्छु भनेर निरन्तर रूपमा लागेर आफ्नो समाजका मुस्लिम महिलाहरुलाई धेरैनै नेतृत्वमा ल्याउन सफल भएकी छन् ।
निशाले विशेष गरी मुस्लिम समुदायको तलाख प्रथा बेठिक हो भनेर त्यसको आवाज उठाएकी थिइन् । महिलालाई कटपुतली जसरी राखी मन् लागेसम्म आफूसँग राख्ने र मन् नलाग्दा उनीहरूलाई घरबाट निकाली दिने तलाखको विरुद्ध उनी बलियो खम्बाने बनिन् । मुस्लिम समुदायमा हुने घरेलु हिंसाविरुद्ध अभियान नै सञ्चालन गरेर प्रतिकार र कानुनी सजाय दिन निशा निरन्तर लागिन् । समुदायमा बन्ध्याकरण गर्न हुँदैन भन्ने मान्यतालाई बिस्तारै न्युनिकरण गर्नतर्फ आवाज उठाईन् र उनी सफल समेत भईन् ।
कु–प्रथा अन्त्य मात्रै होइन समुदायको समस्या पनि खैरुनकै भयो
खैरुन कुप्रथा विरुद्ध मात्रै होइन समुदायका नागरिकमा परेका समस्या समाधानको लागि पनि काम गर्न थालिन् । उनले मुस्लिम समुदायमा शौचालय नभएका घरका लागि स्थानिय निकायसंग समन्वय गरेर शौचालय निर्माणको अभियान समेत सञ्चालन गरिन् । उनले ९० घरलाई शौचालय निर्माण गर्न सफल समेत भईन् । आफ्नै पहलमा समुदायमा अनौपचारिक शिक्षाको लागि पढ्न र पढाउने सामुदायिक भवन निर्माण गरिन् ।
निशाले लेख्न नजान्ने महिलाहरुलाई आफ्नो हातले हात समाएर लेख्न सिकाइन् । अहिले उनी आफ्नो समुदायमा रहेका अपाङ्ग, गरीब, विपन्न परिवारलाई सहयोग गर्ने समन्वय गर्ने, घरेलु हिंसा, बहुविवाह र बालविवाह गर्नेलाई कानुन अनुसार कारबाही गर्नमा समाजका महिलालाई सहयोग गर्छिन् ।
निशाको नेतृत्वले बोल्न नसक्ने महिला आफ्नो अधिकारको लागि लड्न सक्ने भएका छन् । निडर बनेका छन् महिलालाई परिवार नियोजनका साधनहरूको प्रयोग गर्न समेत उनले सिकाईन् ।
समाजबाट एक्लो हुँदा पनि छोडिनन् कुप्रथा विरुद्ध बोल्न
निशाले आफ्नो वर्ग समुदायको लागि आवाज उठाउँदा उनलाई आफ्नो समुदायको कुरा बाहिर ल्याएको भन्दै मस्ज्दिमा लगेर घुँडा टेकाएर माफी माग्न लगाइयो ।
तर उनले निडर भएर आफ्नो कामलाई छोडिनन् । आफुले उठाएको आवाज सत्य भएको भन्दै माफी मागिन् । धेरै धम्की आएतापनि धम्की संग डराइनन् । आज त्यहि निडरताले उनलाई सफल बनाएको छ ।
सम्मानको ओइरो
समानता, समावेशी र मानवअधिकारका लागि आशनमा महिला शासनमा महिला, लैंगिक विभेद बुझिदेऊ हिंसा हैन खुशी देऊ , हरेक घर हरेक पालिकामा हुनुपर्छ साहसी बालिका भन्ने मूल नाराका साथ २०७८ माघ २७, २८ र २९ गते आयोजना गरिएको ऐतिहासिक चौथो राष्ट्रिय बेटी सम्मेलन (गण्डकी प्रदेश पोखरा ) चेलीबेटी सशक्तिकरण सम्मान २०७८ मूलधार महिला सेवा केन्द्रबाट उनी सम्मानित भएकी छन् ।
स्वास्थका क्षेत्रमा धेरै योगदान पुर्याएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता नगर घोषणा सभा एवं स्थानिय स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रमको अवसरमा सम्मान गरेको छ । यस्तै मुस्लिम महिला अधिकारकर्मी भएको हुँदा निशा धेरै ठाउँबाट सम्मानित भएकी छन् । विभिन्न संघ संस्थाहरुले समेत उनलाई सम्मान गरिरहन्छन् ।
मुस्लिम समुदायका लागि कुनै नयाँ कार्यक्रम र योजना निर्माण गर्नुपरे खैरुनको नाम पहिले आउँछ ।
‘म यो सेवाबाट धेरै नै सन्तुष्ट छु । मेरो परिवारबाट ठुलो सहयोग पाएकी छु ।, उनी थप्छिन् “ मेरो श्रीमानले धेरै नै सहगोग गर्नु भयो जसका कारण मलाई आज धेरैले चिन्नुहुन्छ ।”
आफ्नो सास रहेसम्म समाजसेवा निरन्तर गरिरहने र मुस्लिम महिलाहरुको अधिकारका लागि ललड्न निशाको अठोट छ ।
ललिता विश्वकर्मा ओड २८ श्रावण २०७९, शनिबार २१:५२