भनिन्छ मन देखि आटेको काम कुनै पनि अधुरो हुँदैन । कुनै पनि काम गर्दा मनदेखि आट्नु पर्छ, चाहे त्यो जिविकोपार्जन गर्ने कुरा होस वा समाज सेवा । हरेक मान्छेभित्र कुनै न कुनै क्षमता हुन्छन् । कसैले त्यो क्षमतालाई बाहिर देखाउछन् त कसैको क्षमता भित्रै मर्छ । आफ्नो क्षमता बाहिर ल्याउन पनि कसै न कसैको साथ अथवा वातावरण राम्रो हुनु पर्छ । निन्द्रा पुरा नभएपछि आखाँ पोल्छ भने झै आफूले कर्म नगरेसम्म फल पाईंदैन । यस्तै विकल्पको खोजी गर्दै सम्भावना धेरै छ भनि सङ्घर्षबाट कहिल्यै नहारेका व्यक्ति हुन् विवेक शाही ।
अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेक शाहीको घर वीरेन्द्रनगर नगरपालिका वडा न ८ संगम टोलमा छ । छोरा, छोरी, श्रीमति कान्छो बुवाको छोरा, दाईको छोरी र आफू गरी छ जनाको परिवार छ । उनी सगम टोल समितिका सचिव पनि हुन । शाहीको जन्म गुरांस गाउँपालिका सेरी वाडा दैलेखमा भएको हो । आमा बालदेवी शाही र बुवा शेर बहादुर शाहीको कोखवाट २०३३ फाल्गुन ३ गते कान्छो सन्तानको रूपमा उनको जन्म भएको हो ।
मध्यम वर्गीय परिवारमा हुर्किएका शाहीको परिवारमा त्यो बेला तीन भाई दुई दिदीबहिनी आमा बुवा गरी सात जना थिए । बुवा इन्डियन आर्मी रिटायर्ड भएता पनि धेरै नै दुःख भोगेका थिए विवेकले । बुवा इन्डियन आर्मी रिटायर्ड भएपछि गाउँघरमा खेती किसान गर्दै घरबार चल्थ्यो । पेटभरि खानलाई केही दुःख भएन तर भनेको जस्तो लाउन भनेको जस्तो खान भने विवेकको परिवारले पाएनन् । विवेक दैलेखमा जन्मिएपनि उनको बाल्यकाल भने बर्दिया जिल्लाको मगरगाडी गाविस वडा नं ८ रम्मापुर ÷ बारह बर्दिया नगरपालिका वडा नं ७ थारु समुदायबीच बित्यो । उनी सानै देखि संघर्षशील स्वभावका थिए । बिहान साँझ घरको काम गरेर स्कूल पढ्न जान्थे । उनले श्री जनता मावि रम्मापुर बर्दियाबाट एस एल सी पास गरेका हुन् । त्यो बेलामा कापी कलम पाउन धेरै नै असहज हुने गथ्र्याे ।
१३÷१४ वर्षको उमेरमा एक हिरो रेन्जर साइकल चढ्ने रहर गरेका विवेकले साइकल किन्ने पैसा नभएपछि पैसा कमाउन भागेर भारतको पंजाब हरियाणाको अम्बोला सिटीमा पुगे । त्यहाँ पोल्टी फर्ममा काम गरे । एक महिना १८ दिन काम गरे । पछि काम गर्न धेरै नै गार्हो भएपछि उनी घर फर्किए । पनः पढाइलाई नियमितता दिएका हुन् ।
विवेक २०५२ सालमा बर्दियाबाट सुर्खेत जिल्लामा पठनपाठनको लागि आए । दिदीको घरमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिए । दिदीको कपडा पसल थियो त्यहाँ उनले सहयोग गर्ने गर्थे । उनले कक्षा १२, ब्यार्चुलर, मास्टर डिग्री सुर्खेत बहुमुखी क्याम्पस बाट गरे । शान्त अनि मिलनसार स्वभावका विवेक कोही दुःखी गरिब देख्यो भने आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने गर्थे ।
सानै देखि सेवा गर्न रुचाउने र हरियाली वातावरणमा रम्न चाहने विवेकले समाजसेवा गर्ने र एउटा धर्मशाला खोल्ने सोचमा थिए । भनिन्छ नि, ‘डुङ्गा खोज्दा देवता पाए’ भने जस्तै विवेकले अन्तरनिर्भर समाज सुर्खेतलाई पाए । २०५६ सालमा भखरै यो संस्थाको स्थापना भएको थियो । यस संस्थामा प्रशासकिय सहायक पदमा विज्ञापन खुलेको थियो । त्यसमा विवेकले अप्लाई गरे । त्यसमा नाम पनि निस्क्यो । यही संस्थाबाट उनले आफ्नो सामाजिक सेवाको यात्रा सुरु गरे ।
संस्थामा आबद्ध भएपछि उनले धेरै नैं संघर्ष गरे । फिल्डमा गएर काम गर्नु पर्ने त्यति बेलाको समयमा गाडी चल्दैन थिए । पैतल यात्रा गरेर पहाड जानु पथ्र्याे । यही सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकामा काम गर्दा धेरै दुःख भोग्न परेको उनी बताउँछन् । धेरै साथीहरुले जागिर छोडेर सरकारी जागिर खाए । बिस्तारै समाजमा रहेका समस्यालाई बुझ्दै गए विवेकमा अझै समाज प्रति लगाव भयो । संस्थाको सबै जिम्मा उनकै टाउकोमाथि आयो । उनले समाज परिवर्तन गर्ने र समाजलाई सेवा गर्ने क्षेत्र यही भएको हुँदा आफ्नो मनलाई कत्ति पनि विचलित नपरेर निरन्तर संघर्ष गरिरहे ।
अन्तरनिर्भर समाजले विशेष गरी सामजिक क्षेत्रमा काम गर्छ । अपेक्षित तथा छेउ लागेका समुदायको परिवर्तनका लागि जुट्नुपर्छ, भन्ने मान्यताबाट अभिप्रेरित भई २०५६ मा अन्तर निर्भर समाजको स्थापना भएको हो । यस संस्थाले सुर्खेत जिल्लाका साविकका विकट १० वटा गाविसमा काम गरिरहेको छ । यसले विशेष गरी कृषि, महिलाको प्रजनन स्वास्थ्य, फोहोर मैले व्यवस्थापन , क्याम्पियनहरु, वातावरणलाई हराभरा बनाउनु पर्छ भनेर काम गरिरहेको छ ।
विकल्प खोजिरहने विवेकले संस्था चलाउनको लागि संस्थाको आफ्नै गेष्ट हाउस खोले । यसमा निरन्तर सेवा लिने मान्छे ७७ वटै जिल्लाको छन् । अहिले संस्थामा १५ जना कर्मचारी र ११ जना बोर्ड कमिटी रहेको छ । विवेकले आफ्नै घरमा २०६३ सालमा गेष्ट हाउस पनि खोलेका छन् । अहिले उनले पिस लेण्ड लज बाट सहुलियत दरमा गेष्ट हाउस सेवा दिरहेका छन् । यसमा आफ्नै परिवारले मात्र काम गर्छन ।
यो संस्थाले विगतदेखि अहिले सम्म ४ सय ६५ जनालाई निशुल्क पाठेघर अप्रेशन गरेर महिलाहरुलाई नयाँ जीवन दिएको छ । दुई हजार चार सय पाँच जनालाई उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिका भित्र २ हजार बिरुवा रोपिएको छ । चार सय २० घरधुरीसंग तरकारी खेतीको काम गरेको छ । गुर्भाकोट नगरपालिकामा ५० वटा बायोग्यास प्लाण्ट निर्माण गरेर हस्तान्तरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिकामा ७० वटा फलामे टनेल बनाएर वितरण गरेको छ । तत्कालीन वीरेन्द्रनगर नगरपालिका भित्र पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेको छ ।
लक्षित कार्यक्षेत्रमा परम्पारगत कृषि प्रणाली, पशुपालन, सिपमा आधारित व्यवसायहरुमा सुधार गर्दै विशेषत गरिबी तथा सीमान्तकृत समूह सदस्यहरूको आयआर्जन तथा जिविकोपार्जनमा अभिवृद्धि गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउने यस संस्थाको उद्देश्य रहेको विवेक बताउँछन् । यस संस्थाबाट विभिन्न क्रियाकलपहरूबाट ३४ हजार जनाले प्रत्यक्ष सेवा लिएका छन् ।
विवेक भन्छन्, हरेक मान्छेसंग भेट हुन्छ । सबै एउटै प्रकृतिका मान्छे हुँदैनन्, सबैको स्वभाव एउटै किसिमको हुँदैन । आफूले सोचे जस्तो परिवर्तन सबैले चाहँदैनन् । आफूले देखेजस्तो सोचेजस्तो अरूले गर्दिउन भन्ने हैन । आफूले जानेको कुरा अरूलाई सिकाउनु पर्छ । भन्ने अनुभव बटुलेको उनी बताउँछन् । काम गर्ने क्रममा परनिर्भर मित्रहरू धेरै भेटेको उनको भनाई छ । आफ्नो जीवनलाई बर्वाद गराउने अथवा सुन्दर बनाउने आफ्नो हातमा हुन्छ, मेहनतको अगाडि भगवान पनि झुक्छन् । उनको भनाई छ ।
विवेकबाट प्रेरित भएर समाजका मान्छेहरू विवेकले गरेजस्तै सिको गर्न थालेका छन् । आफ्नो समुदायलाई एक सुन्दर टोलको रूपमा स्थापित गरेका छन् । सरसफाईयुक्त टोल बनाएका छन् । आफूले जानेका कुराहरू समाजलाई सिकाउँछन् । समाजबाट एकदमै राम्रो प्रतिक्रिया आउने गरेमा आफु पनि छिमेकि देखि खुशी र छिमेकी पनि आफुदेखि खुशी भएको उनी बताउँछन् ।
बर्दियामा हुर्किएका विवेकले सानोमा रातदिन नभनि निरन्तर काम गरिरहने गर्थे । जब सुर्खेतमा आएर पढाईसँगै जागिर गर्न थाले । उनको जीवन अझै संघर्षमय बन्यो । गाउँ गाउँमा फिल्ड जानुपर्ने हुन्थ्यो । त्यतिबेलाको समयमा गाडी पाइँदैन थियो । गाडी भएता पनि त्यो ठाउँसम्म सडक पुगेको थिएन । सुर्खेत देखि चिङ्गाडको अवलचिन हिँडेर जानु पथ्र्यो । कति दिन त भोकै भोकै फिल्डमा हिँडेको पल सम्झिन्छन्, विवेक । त्यो दुःख देखेर धेरै विवेकसँगै काम गर्ने साथीले जागिर छोडेका आए । संस्थाको पुरै जिम्मेवारी विवेकलाई थियो । विवेकलाई पनि काम छोडौ छोडौ लाग्ने गथ्र्याे । तर उनी आफूले गर्न लागेको काममा मेहेनत गर्नु पर्छ भन्ने मान्यता राख्थे । संस्था भाडामा थियो । धेरै विकल्पको खोजीमा संघर्षका बाबजुत विवेकको पल र कार्य समितिको थोरै थोरै रकमले संस्थाले आफ्नै भवन पायो । भवन बनाउने क्रममा दार चोरेर ल्यायो भनेर बन् पालेले समातेको पल सम्झिन्छन् विवेक ।
संघर्ष र सफलतालाई एउटा सिक्काको दुई पाटा जस्तो ठान्दछन् विवेक असफल मान्छे कहिल्यै हुँदैन संघर्ष गरेपछि सफल हुन्छ । तर सफलतालाई चिन्न नसक्नु त्यसको कमजोरी हो । विवेक आफू अन्तर्राष्ट्रिय स्तरको अन्तर धार्मिक संगठनमा २००६ सालदेखि शान्ति प्रर्वद्धनमा टेनरको रूपमा आबद्ध भएको बताउँछन् । यस शान्ति प्रर्वद्धनको काम गर्छ । यसै संगठन मार्फत ११ वटा देशको भ्रमण गरिरहेको बताउँछन् । ११ वटै देशका युवाहरुलाई समाजमा कसरी शान्ति ल्याउन सकिन्छ, कसरी आफ्नो जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको कोचिङ दिने गरेका छन् ।
समाजमा बसिसकेपछि समाजलाई कस्तो बनाउने कुन बाटो तिर लैजाने भन्ने कुरा सबै आफ्नै हातमा हुन्छ । अरुलाई दोष दिने बानी सबैबाट हट्नु पर्ने र बिग्रेको कुरालाई तत्कालै सुधार गर्नुपर्छ । अर्कालाई दोष लगाएर समाज परिवर्तन हुँदैन, उनको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिका लगायत अन्य पालिकहरुलाई हरियो सिटी बनाउने, वृक्षारोपण आफ्नो पहिलादेखि कै चाहना भएको र सबै ठाउँलाई वातावरण मैत्री बनाउनु पर्ने हरेक वर्ष आफूले बिरुवा रोप्ने र त्यसलाई बचाउने, रुख काटेर के हुन्छ र नलगाएर के हुन्छ भनी हरेक व्यक्तिलाई सचेतीकरण राई बिरुवा रोप्ने बानीको विकास गर्ने उनको भावी योजना रहेको छ ।
ललिता विश्वकर्मा ओड १८ भाद्र २०७९, शनिबार १५:४८