‘माटो जोगाऔँ’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सुर्खेत ।  सुर्खेतमा ‘माटो जोगाऔँ’ अभियान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनका लागि राष्ट्रिय नीतिहरू बनाउन  सघाउनका लागि यो सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

‘सेभ सोइल’ अर्थात् ‘माटो जोगाऔँ’ अभियान नविन पुनको नेतृत्वमा चलाइएको हो । देशका सातवटै प्रदेशमा यो अभियान चलाइएको हो ।

‘सेभ सोइल’ संस्थाको आयोजना र वीरेन्द्रनगर नगरपालिका सुर्खेत , भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश,करितास नेपाल, नाजरेत सोसाइटी र आवाज संस्थाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्न भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका र यस नगरपालिकामा रहेका विभिन्न संघसंस्थाले सहयोग र समन्वय गरेका गरेका छन् ।

माटो जोगाऔँ अभियान के हो ?

सद्गुरुद्धारा सुरु गरिएको यो विश्वव्यापी अभियान हो । जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिलेकै अवस्थामा फर्काउनका लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनका लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन र त्यसतर्फ कामहरू गर्न सघाउँछ ।

सद्गुरुले यस अभियानअन्तर्गत माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमती निर्माण गर्न, सद्गुरुले बेलायत, युरोप, एसिया र मध्य–पूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्नेछन् । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ ।

यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणका लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।

शुक्रबार आयोजित सचेतनामुलक कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले माटो जोगाउन सबैको दायित्व भएको र यसलाई हातेमाले गर्दै जानुपर्ने बताए । उनले आफ्नो नगरपालिकाबाट यो अभियानको लागि चाहिने सहयोग गर्नेे अभियानमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै राष्ट्रिय मानशिक स्वास्थ्य चिकित्सक नरेन्द्र शर्माले माटो एउटा उपचार पद्धति भएको र विषादिको प्रयागले माटो नष्ट हुने भन्दै यसका लागि नीती निर्माण गर्नुपर्ने बताए ।

एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोग बहादुर शाहीले रासायनिक मल मात्र नियन्त्रण गर्न सक्यो भने माटो विनास हुनबाट बचाउन सकिने बताए ।

‘सेभ सोइल’ अभियानका अभियान्ता नविन पुनले माटो जोगाउनलाई सबैमा जनचेतना हुन जरुरी भएको बताए । यसको लागि सरकारले नीति निर्माण गर्नुपर्ने उनले धारणा राखे ।

कार्यक्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा आवाज संस्थाका निर्देशक पवित्रा शाहीले माटो संगै पानी र जङ्गल बचाउन जरुरत भएको बताईन् । ‘हामी माटोमै हुर्किएर माटोमै विलिन हुनुपर्छ, उनले भनिन् “आफ्नो लागि मात्र भएपनि माटो जोगाऔँ अभियानमा हामी सबैको आवाज एक हुन आवश्यक छ ।”