प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।

मिलेर बनेको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रतिनिधि सभाको पहिलो बैठक यही २५ गते बस्दै छ । यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।