अध्ययनका लागि बाहिरियो तीन महिनामा ३३ अर्ब रुपैयाँ

सुर्खेत । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेश अध्ययन गर्नका लागि नेपालबाट ३३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको हो ।

यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर बढी हो । गत आर्थिक वर्षको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१।३ प्रतिशत धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आवको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।