
सुर्खेत । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको चौथो वार्षीक प्रतिवेदन २०७९ लाई कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ ।
आज बसेको कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको अठ्ठाईसौं बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त प्रतिवेदन सभामा पेश गरेका थिए ।
मुख्यमन्त्री शाहीले सभामा पेश गरेको महालेखा परीक्षकको चौथो प्रतिवेदन कर्णाली प्रदेश सभा अन्तर्रगतको सार्वजनिक लेखा समितिमा छलफलका लागि पठाइएको हो ।
यस्तै बैठकमा कर्णाली प्रदेश सरकारका तर्फबाट सभामा पेश भएको कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धि ऐन २०७५ माथी संशोधन प्रस्ताव परी प्रदेश मामीला समितिमा छलफल भएपश्चात्को निर्णय र प्रतिवेदन समितिका सभापती दानसिंह परियारले सभामा पेश गरेका छन् ।
यस्तै आन्तरिक मामीला तथा कानुन मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथी सामान्य छलफलका लागि सभासमक्ष प्रस्ताव गरेका थिए ।
उक्त विद्येयकको छलफलमा सांसद दल रावलले भाग लिएका थिए ।
कर्णाली प्रदेश सभाको आगामी बैठक श्रावण १८ गते बुधबार ३ बजे सम्मका लागि स्थगित भएको छ ।

फरकबाटो १६ श्रावण २०७९, सोमबार १७:४८