वर्षौ भेट नभएका साथी भेट्ने थलो बन्दै देउडामेला

‘सात्या भेट्याकी बेला त क्या मरुला जैथो लाग्दोछ’

“उई मुक्ति दिदिअ तमी त बुढी गयाछौं औइ , अ. म क्या बुढीगयाँ त, सबै सात्या धेई कान्छि त होई सबैधेई बुढी धेखियाकी छै ,

सबै सात्या धेई मै कान्छि हुँ, मेरो जोबान सबैधेई अघि गैगया धेउ दिदिअ ,  त्यतिका केटाकेटीकन जन्माईहुकाईन क्या बाली देखिधिहोइ त ”

यो संवाद ६८ वर्षीय मुक्ति बुढा र ६० वर्षीय लालसरी रोकायको हो । मंगलबार कात्र्तिक १ गते , हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगर नगरपालिका नजिकैको खुल्ला मैदानमा लाग्ने देउडा मेलामा भेट भएका यि बालसखाहरुको भेटभएपछिको संवाद हो यो ।

जुम्लाको सिंजा गाउँपालिकामा जन्मिएका उनीहरु बालापनका साथी हुन् । विवाहपछि आफ्नो घरधन्दामा व्यस्त हुँदा खासै भेट हुँदैनथ्यो । अब आफ्नै जन्मस्थान छोडेर बसाई सरेर आएपछि भेट पातलिँदै गयो । वर्षौ भेट नभएका उनीहरुको भेट भयो वीरेन्द्रनगरमा लाग्ने देउडा मेलामा ।

करिब तिनवर्ष अगाडी मेलाले भेट गराइदिएका उनीहरु हरेक महिनाको १ र १५ गते नछुटाई मेला आउँछन् र देउडा भन्दा प्यारो बालापनमा बिताएका पलहरु सम्झँदै उनीहरु रमाउँछन् ।

६० वर्षकी लालसरी भन्छिन् “सानोमा लुकामारी, बेहुलाबेहुली खेलेका साथीहरु भेट्नपाउँदा खुबै खुशी लाग्छ ।” मुक्ति सुनाउँछिन् “साथीहरु भेटेर बालापनका कुरा गर्न पाउँदा मरिएला जस्तो त कहिल्यै लाग्दैन । साथीलाई बुढो र आँफुलाई संधै उस्तै तरुनी छु जस्तो पो लाग्छ ।”

उनीहरु मात्रै होइन , मेलामा दैलेखको नारायण नगरपालिकाका विष्णु योगीले पनि आफ्नो बालापनका साथीहरु भेटेर गफिँदै थिए । १४ वर्षसम्म भेट नभएका उनका साथी पर्शुराम जैसी, मणी तिमिल्सीना लगाएत धेरै साथीहरुलाई उनले मेलामै भेटाए । साथीहरु र आफन्त भेट्न पाइने भएपछि उनी हरेक महिनाको १ र १५ गते मेला नछुटाई आउने गर्छन् ।

उमेरले ८१ पुगेका योगीले घरमा एक्लैपनि दिन बिताउन अप्ठ्यारो हुने र मेलामा पुरानो संस्कृति पनि हेर्न पाईने तथा साथीहरु पनि भेट्न पाइने भएपछि आँफु संधै आउने गरेको  बताउँछन् । ।

कर्णाली संस्कृतिको खानी हो । पुरानो संस्कृति लोप हुन लागेको बेला देउडागित संरक्षणका लागि सुर्खेतमा बसोबास गर्ने साविकको कर्णालीका बुढापुरानाहरुले मेला लगाउन सुरु गरेका हुन् । उनीहरुले देउडा गित संरक्षण समिति समेत निर्माण गरेर मेला लगाइरहेका छन् ।