लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान आजदेखि सुरु

सुर्खेत । लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहीवार(आज) देखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शुरु हुने भएको हो ।

संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकोले मूल नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ राखिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । हिंसामा परेकाहरुले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसा उजुरी गर्न समेत नआउने उनको भनाई छ ।

यस अवसर पारेर अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, नेपाल पक्ष रहेका महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्र्तराष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्तरक्रिया गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाईजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ । ।