भोलि हुने उप-चुनावको सबै तयारी पूरा


सुर्खेत । भोलि हुने उप–चुनावको सबै तयारी पूरा भएको छ । भोलि चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उप चुनावको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।

मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ । मतदान सुरू हुनु ४८ घण्टा अगाडि नै प्रचारप्रसार गर्न आयोगले निषेध गरेको थियो । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको आयोगले जनाएको छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ । आवागमन र गाडी सञ्चालनका लागि पालिकाहरुले तोकेबमोजिम हुने गरी गर्न र मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रीपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन र पालिकालाई आवश्यक निर्देशन दिएको सहायक प्रवक्ता वाग्लेले बताए ।

मतदानमा अवरोध हुने खालका गतिविधि कसैबाट भएमा त्यस्ता व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ । आयोगले उपचुनावलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।