सुटिङको दृश्य टिकटकमा बाहिरिएपछि तनावमा ‘छक्का पञ्जा- ४’ युनिट

काठमाडौं । अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन ।

फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा पात्रालाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । यो दृश्य बाहिरिएपछि निर्माण युनिट अहिले तनावमा रहेको छ ।

यो दृश्य छायाङ्कनका लागि निर्माण युनिटले लाखौ खर्चिएको देखिन्छ । टिकटकको फलोअर्स बढाउने लोभमा कसैले खिचेर हालिदिँदा पैसा र मिहिनेत दुवै पानीमा फिर्ने देखेर निर्माण युनिटमा तनाव भएका हो । फिल्म युनिट टिकटकमा बाहिरिएको दृश्य फिल्ममा राख्ने वा अर्को सिन खिच्ने दोधार रहेको युनिटका एक सदस्यले बताए ।

हेमराज विसीको निर्देशन रहने फिल्ममा दीपकराजसँगै बेनिशा हमाल, केदार घिमिरे, दीपाश्री निरौला, राज आचार्य, निर्मल शर्मा, नीर शाह, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ ।