माउथ पब्लिसिटी बढेपछि क्यूएफएक्सले बढायो ‘प्रकाश’ को शो

काठमाडौं । फिल्म ‘प्रकाश’ को क्यूएफएक्स च्यानलले शो बढाएको छ । शुक्रबार न्युन शो पाएको फिल्मको माउथ पब्लिसिटी बढेपछि शो विस्तार गरिएको हो । देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो पाएको फिल्मलाई क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ । जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो विभाजन गरिएको छ । क्यूएफएक्सले ‘प्रकाश’ को शुक्रबार ८० प्रतिशत हाराहारीमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो ।

निर्माण टिमले शुक्रबार देशभरमा चलचित्रको अकुपेन्सी ५० प्रतिशत भन्दा माथी रहेको बताएको छ । प्रिमियरमा निकै प्रशंसा पाएको फिल्मले दर्शकबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको छ । आम सर्वसाधारण मात्र होइन विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले ‘प्रकाश’ समेत हेर्नैपर्ने फिल्म भनि प्रतिक्रिया दिएका छन् ।

दिनेश राउतले पनि माउथ पब्लिसिटी अब्बल भएकोले शनिबार फिल्मको ब्यवसाय बढेको बताए । उनले भने ‘पहिले शो नदिएका क्यूएफएक्सले पनि अहिले शो बढाएको छ ।’ शुक्रबार फिल्मलाई न्युन शो दिएको कारण कलाकार प्रदीप खड्काले एक कार्यक्रम गर्दै काठमाडौंका ९ वटा एलइडीमा फिल्म प्रदर्शन गर्ने चेतावनी समेत दिएका थिए ।

शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।