माओवादी युद्धलाई गलत अर्थ्याएको छैनः गायक प्रकाश सपुत

काठमाण्डौ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएको बरु परिवर्तनको जस दिइएको स्पष्ट पारेका छन् ।

आज सोमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताएका हुन् । उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको बताए । एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उहाँले यो विषयमा सञ्चारमाध्यममा पढिँदै, लेखिँदै आएको र स्वीकारिएको विषयसमेत भएको प्रस्ट पारेका छन् ।

सपुतले आफूले कसैको सहयोग र सल्लाहमा नभइ आफ्नै सोच र विचारले यो गीत बनाएको भन्दै यसलाई राजनीति गरेर कुनै कित्तामा नउभ्याइदिन पनि आग्रह गरेका छन् । भिडियोमा भएका कुनै दृष्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी माग्दै सपुतले भन्छन्, ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौँ । तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

यस्तै उनले भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, सङ्गत गरेका चरित्रलाई गीतमा उतारेको उनले फेसबुकमार्फत उल्लेख गरे । सपुतले माओवादी युद्धमा लागेका तत्कालीन लडाकुले अहिले जीवन निर्वाह गर्न सङ्घर्ष गर्नुपरेको र देह व्यापारमा समेत लाग्नुपरेको लगायतका विभिन्न पक्षलाई समेटेर गीत ल्याएछि केहीले आलोचना गरेका छन्, धेरैले समर्थन गरेका छन् ।