संसदीय छानबिन विशेष समितिले सभामुखलाई आज प्रतिवेदन बुझाउने

काठमाडौं ।  चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने भएको छ।

प्रतिवेदनलाई अन्तिम रूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

‘संसदीय छानबिन विशेष समितिको आज अन्तिम बैठक बस्यो। प्रतिवदेन तयारी भएको छ’, उनले भने, ‘शुक्रबार समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। समितिका सभापतिले पेश गर्नुहुनेछ।’

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेका थिए। समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव छन्।

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका थिए। समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो। समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिए पनि तोकिएको समयमा काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको म्याद बिहीबार सकिएको छ।