सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने सरकारको प्रतिबद्धता

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताएका छन् ।

स्वीट्जरल्यान्डको जेनेभामा चलिरहेको १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको बताए । उनले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको समेत बताएका छन् ।

कोरोना महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगमा समेत असर पारेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराएका थिए । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको थियो ।

श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्त्वपूर्ण कदम रहेको मन्त्री श्रेष्ठको दाबी छ । सीमान्तकृत तथा बेरोजगार नागरिकलाई सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकालाई पनि केही मात्रामा राहत पुर्याएको मन्त्री श्रेष्ठले बताएका छन् ।