१ सय ६१ रुपैयाँ घटाएर पठायो भारतले ग्यास


सुर्खेत । भारतले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएर पठाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर १ सय ६१ रूपैयाँ घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।

मूल्य घटेर आएसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त हुने निगमले जनाएको छ । यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर १ सय ६० रूपैयाँ घाटा हुँदै आएको निगमको भनाई छ । आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ।

त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ। नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने ठाकुरले बताए ।

हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ रहेको छ।