सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनामा सही विवरण टिपाउन कर्णालीबासीलाई आग्रह गरेका छन् ।
सही तथ्याङ्कले नै प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने भन्दै घर-घरमा आउने गणकहरुलाई सही विवरण टिपाउन उनले आग्रह गरेका हुन ।
भोलिदेखि राष्ट्रिय जनगणना २०७८ सुरु हुँदैछ । मंसिर ९ गतेसम्म संचालन हुने जनगणनामा प्रत्येक घर-घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन् । यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ ।
मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधार गराएर सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबैले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए । ‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने गर्दछ’ मुख्यमन्त्री शाहीले बुधबार जारी गरेको अपिलमा उल्लेख गरिएको छ, ‘त्यसैले आफुले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने बुझ्नु पर्दछ ।’
उनले घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका छन् ।
फरकबाटो २४ कार्तिक २०७८, बुधबार १९:३९