कृषककी ‘कृषि प्राविधिक’ छोरी

अनिता वली

सुर्खेत । ‘एका बिहानै उठेपछि तिन बाबुछोरीको कामको बाँडफाँड हुन्छ । व्यवसायीक रुपमा पालन गरेका बाख्राको धन्दा, तरकारी बारी र चिया पसल सबै धान्नुपर्छ । सबै कामको बाँडफाँड गरेपछि उनी आँफुलाई भाग परेको काम सक्नतर्फ लाग्छिन् ।’

सानो छँदा वैदेशिक रोजगारीको उनलाई खुब ठुलो मोह थियो । त्यसैले पनि उनी काठमान्डौंमा बसेर जापानिज भाषा पढेर पास गरिन् । तर कृषि पेशाले उनलाई जापान जानबाट रोक्यो ।
आँफुसंगै भाषा पास गरेका साथीहरु जापान गए तर भेरीगंगा नगरपालिका वडा नं ४ ठुलो हर्रे सुर्खेतकी अनीता वली भने बुवा आमाको कृषि प्राविधिक भएर बसेकी छन् ।

६ जनाको परिवारमा उनी माइली छोरी हुन् । तिन बहिनी, एकजना भाई र आमाबुवा सहित ६ जनाको परिवार कृषि कर्मले पालिएको छ ।

अनिताकी दिदिले त्रिभुवन विश्वविद्यालयमा एम.एस.सी गर्दैछन्, बहिनी बि.बि.एस् दोस्रो वर्ष र भाईले प्लसटुमा साईन्स पढ्दैछन् । सबैका लागि खर्च कृषि कर्मले नै पुग्छ ।

अनिता आई.एस.एजी पढ्दैछन् । त्यो भन्दा पहिले उनले १८ महिने कृषि समेत पास गरिसकेकी हुन् ।

२०६२ सालदेखी उनका बुवा मानबहादुर वली र आमा शुसिला वलीले कृषि सुरु गरेका हुन् । व्यवसायीक रुपमा सुरु गरेको कृषिले अहिले राम्रो आम्दानी दिन थालेको छ ।

अनिता वलीका बुवा मानबहादुर वली र उनकी आमा सुशिला वली

अनिता भन्छिन् “हामी चार जना भाईबहिनीलाई काठमान्डौंमा बसेर उच्च शिक्षा दिन आमाबुवाको कृषि व्यवासयले साथ दिएकै कारण मलाई पनि यहि पेशामा आउन प्रेरणा मिलेको हो ।”

आफ्नो मात्रै होइन गाउँभरिका किसानलाई परेको समस्यामा अनिताले सल्लाह दिन्छिन् ।

२०७७ सालमा पवित्र कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर वार्षीक ६ लाख भन्दा बढी कमाई हुने गरेको अनिताले सुनाईन् ।

अनिताका बुवा केही समय वैदेशिक रोजगारका लागि पनि नगएका होइनन् तर पछिल्लो समय कृषिबाट राम्रो आम्दानी भएपछि उनी विदेश जान छोडेका छन् ।

मानबहादुर भन्छन् “पहिले त बालीमा रोगकिरा लागेपनि समस्या हुन्थ्यो । अबत आफ्नै छोरी कृषि प्राविधिक पढेकी छे । जतीबेला पनि बाली हेरविचार हुन्छ । त्यसैले आम्दानी बढेको छ ।”

सुर्खेतको हर्रे तरकारी तथा फलफुलका लागि पकेट क्षेत्र  हो । त्यसैले पनि कृषिमा केही योगदान दिने उदेश्यले अनिताले कृषि पढेकी हुन् । कृषि व्यवसाय संगै अनिताका बुवा–आमाले चिया पसल पनि गर्छन् ।

अनिता थप्छिन् “कृषि पेशालाई घृणा गर्ने परम्परा र कृषि प्राविधिक पढेकाहरुले माटो नछुने परम्परा तोड्न चाहान्छु ।”

कुषि विकास निर्देशनालयले उनलाई गत वर्ष सामाजिक परिचालकको रुपमा समेत नियुक्त ग¥र्यो । अझै अनितालाई थप कृषि क्षेत्रमा सेवा गर्ने मौका मिल्यो ।

श्री हर्रे तरकारी सञ्चालन समिति ब्लककै रुपमा कृषि विकास निर्देशनालयले विकास गरेको छ । जसमा आठओटा टोल समेत रहेका छन् ।

कृषि विकास निर्देशनालय सुर्खेतले अनिताको कृषि फर्मलाई हाते ट्याक्टर र बिउँहरु अनुदानमा सहयोग गरेको छ । त्यो बाहेक आफ्नै लगानी र मेहेनेतमा उनीहरुको परिवार बाँचेको छ ।

अनिताकी आमा सुशिला वली भन्छिन् “छोरीलाई प्राविधिक ज्ञान दियो भने हिंसा र दुव्र्यवहार व्यहोर्नु पर्दैन । छोरीलाई दाइजोको साटो शिक्षा दिनुपर्छ । अझै कृषि कर्म दियो भने आँफुमात्रै होइन धेरै परिवारको पेट भरिन्छ ।”

उनीहरुले अहिले व्यवसायीक बाख्रा, ८ रोपनी जमिनमा हरियो तरकारी उत्पादन गर्छन् । त्यो भन्दा बढी अनिताले १ सय ८२ घरपरिवारलाई कृषि प्राविधिकको रुपमा समेत सहयोग गर्दै आएकी छन् ।

कृषि बालीमा केही रोग लागेपछि गाउँका किसानहरुले सम्झने नाम अनिता नै हो । अनितालाई आफ्नो तरकारी खेती र गाउँका अरु किसानको हरियो तरकारी खेती हेर्न भ्याई नभ्याई हुन्छ ।