
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ। अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्डसहितको प्रतिनिधिमण्डल प्रचण्ड भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो। नुल्यान्डको टोलीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि सहभागी थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा संयुक्त राज्य अमेरिकाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोग निरन्तर पाउने विश्वास व्यक्त गरेका थिए। सोही अवसरमा उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री पदमा निर्वाचत भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।
भेटमा नेपाल(अमेरिका सम्बन्ध,दुई पक्षीय सहयोग र आपसी हितलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन्। उनले नेपालपछि भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

फरकबाटो १६ माघ २०७९, सोमबार १२:४९