नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एकजना पक्राउ

सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर रहेका छन् । तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो।

उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ। अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकरणमा मुछिएका १० जना अझै फरार छन‍्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।