एमाले जनता झुक्याउने पार्टी होइन : नेता कँडेल


सुर्खेत । नेकपा एमाले जनता झुक्याउने पार्टी नभई जनता बुझाउने पार्टी भएको नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज यामलाल कँडेलले बताएका छन् ।

नेकपा एमाले गुराँस गाउँकमिटिको दैलेखको आज आयोजित दोस्रो अधिवेशनमा आफ्नो धारणा राख्दै उनले अन्य पार्टीहरु जनता झुक्याउने र पालैपालो गठबन्धनका नाममा जतापनि मिल्ने भएपनि एमालेले भने जनतालाई सत्य कुरा बुझाउने गरेको बताएका हुन् ।

‘ काँग्रेस जनता झुक्याएर भोट माग्छ’, उनले भने “ माओबादी सत्ता स्वार्थका लागि गठबन्धनको गाँठो पार्दै हिँड्छ ।”

तर नेकपा एमालेले जनताको मनोभावना अनुरुपको काम गरेको उनले दाबी गरे ।

एमालेले जनताका लागि राम्रो काम गर्ने भएकोले लामो समय सरकारमा बस्न नदिने चलखेल अन्य ढटुवा  पार्टीहरुले गर्ने गरेको आरोप नेता कँडेलले लगाएका छन् ।

अधिवेशनको प्रमुख अतिथिको रुपमा सहभागी कँडेलले एमालेले ल्याएको सामाजिक सुरक्षा भत्ता लगाएतका थुप्रै कार्यक्रमले निम्न वर्गका जनतालाई राम्रो प्रभाव पारेको र अन्य राम्रा कामहरु गर्नै बाँकी रहँदा सत्तामा एमालेलाई पुग्नै नदिने र जनता झुक्याउने काम अन्य पार्टीहरुको भइरहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश उपसचिव रबिन्द्र शर्माले नेकपा एमाले मात्रै जनताको सुखदुखको पार्टी भएको बताए । अधिवेशनमा नेकपा एमाले दैलेख जिल्ला अध्यक्ष सुर्य बहादुर शाही, पुर्व सांसद पार्वति विसुन्के लगाएतले धारणा राखेका थिए । गुराँस गाउँकमिटिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।