निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

आयोगमा पालिका चुनावका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।

उम्मेदवारले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।