ट्विटरले एलन मस्कविरुद्ध मुद्दा दायर गर्‍याे

सामाजिक सञ्जाल कम्पनी ट्विटर विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेकाे छ । ट्विटर किन्ने सम्झाैता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाकाे डेलावेयर अदालतमा मुद्दा दायर गरेकाे बीबीसीले जनाएकाे छ ।

एलन मस्कले गएकाे शुक्रवार ट्विटर नकिन्ने बताएपछि ट्विटरले अमेरिकाकाे डेलावेयर अदालतमा मुद्दा दायर गरेकाे हाे । ट्विटरका अध्यक्ष ब्रेट टेलरले यसबारे जानकारी दिनुभएकाे छ ।

गएकाे अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झाैता गर्नुभएकाे थियाे । त्यस बेला ट्विटरकाे प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झाैता भएकाे थियाे । अदालतले मस्कलाई सम्झाैता पूरा गर्नुपर्नै आदेश दिनुपर्ने कम्पनीकाे माग छ ।

तर गएकाे शुक्रवार एलन मस्कले ट्विटरले ‘स्पाम’ र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताउनुभएको थियाे ।

एलन मस्क सम्झाैताका लागि सहमत भएपछि टेस्लाकाे शेयरकाे साथै शेयर बजार घटेकाे र टेस्लामा मस्ककाे हिस्सा घटेकाे ट्विटरले दायर गरेकाे मुद्दामा भनिएकाे छ । एलन मस्ककाे सम्पत्तिमा नाेभेम्बरमा सन् २०२१ काे उच्च अङ्कबाट एक सय बिलियन डलर घटेकाे छ र यही कारण उनी याे सम्झाैताबाट बाहिर आउन चाहेकाे बताइएकाे छ ।