सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ एप अनिवार्य गर्न दिएको निर्देशन भारतले फिर्ता लियो

सुर्खेत । भारतले सन् २०२६ को मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ नामको एप इन्स्टल गरेर मात्रै बजार पठाउन निर्माताहरूलाई दिएको निर्देशन फिर्ता लिएको छ । भारतको सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएको हो ।

सरकारले सबै नागरिकहरूलाई साइबर सुरक्षा प्रदान गर्न सबै नयाँ स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ एपको इन्स्टल अनिवार्य गरेको र यो एप सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार मन्त्रालयले यो एपका प्रयोगकर्ताहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको र कम सचेत नागरिकहरूलाई यो एप सजिलै उपलब्ध गराउन सकियोस् भनेर यसलाई बिक्री गर्नुअघि नै इन्स्टल गर्ने निर्णय गरिएको बताएको छ ।

विपक्षी दलसहित अभियन्ताहरूले भने फोनमा पहिल्यै इन्स्टल गर्न लगाई हटाउनसमेत नदिई सरकारले कल, सन्देश र स्थान निगरानी गर्न लागेको भन्दै विरोध गरेका थिए ।

‘सञ्चार साथी’ साइबर सुरक्षाको एउटा टूल हो । सन् २०२५ को जनवरी १७ मा मोबाइल एपका रूपमा शुरू भएको हो । यसको प्रयोगबाट भारतमा ३७ लाख वटाभन्दा धेरै चोरी भएका वा हराएका मोबाइल फोन ब्लक गरेको र तीमध्ये २३ लाख वटा फोन फेला पार्न सघाएको सरकारी दाबी छ । यो एप भारत सरकारको दूरसञ्चार सुरक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।