स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो ।

स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो ।

जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ ।

गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ ।