राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद सजाय

सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात /सात वर्ष कैद सजाय फैसला सुनुवाईको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्षको कैद सजाय सुनाएको हो ।

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनीहरुले दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपियाँ समेत जम्मा गर्नुपर्नेछ ।

यसैगरी यौन दुर्व्यवहार भएको होटलका सञ्चालक मन बहादुर पुनलाई तीन वर्ष छ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसलामा तोकिएको छ । उनीहरुलाई २०७८ जेठ २३ गते पक्राउ गरिएको थियो । बोटेचौरमा रहेको मन बहादुर पुनको होटलमा राउटे दुई जना युवतीलाई लिएर घर्ती र बुढाले २०७८ जेठ २१ गते राति यौनहिंसा गरेका थिए ।