तरकारी बेचेरै गुजारा चलाउँछिन् गौरीकला

सुर्खेत ८, असोज । कालीकोटकी गौरीकला भण्डारी बिहान पाँच बजे उठ्छिन् । बिहानको नृत्य कर्मपछि उनको दैनिकी सुरु हुन्छ । डोको बोकेर किसानको बारीमा गएकी उनी सबैको घरघरमा तरकारी लिएर पुग्छिन् । उमेरले ७० वर्ष काटेकी उनले आराम गर्ने र परिवारमै रमाउने यो उमेरमा बिहान बेलुकाको छार्क टार्न डोको नबोकी सुखै छैन ।

बिहानको खानाको भने उनको कुनै टुङ्गो हुँदैन । कहिले बजारमै किनेर खान्छिन् त कहिले बेलुकीसम्म भोकै बस्नुपर्छ । तर डोकोमा बोकेको तरकारी र फलफुल बिक्री गरेर नसकेसम्म उनी घर जाँदिनन् । गाउँमा किसानको बारीमै पुगेर तरकारी र फलफुल खरिद गरी वीरेन्द्रनगरको बजारमा डोकोमै बोकेर बेच्ने काम गौरीकलाले तीन वर्षदेखि गर्दै आएकी हुन् । कालीकोटको गेला भन्ने गाउँबाट सुर्खेतको वीरेन्द्रनगर आइपुगेकी उनको साहारा यतिबेला डोको नै बनेको छ । गाउँको ताजा तरकारी र फलफुलको पहिचान उनले बनाएकी छन् । उनलाई सबैले ‘ताजा तरकारी’ बेच्ने आमा भनेर चिन्ने गर्छन् ।

गौरीकलाले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पनि लिन्छिन्, तर उनलाई त्यो भत्ताले कोठाभाडा तिर्न पनि पुग्दैन । गौरीकलाका श्रीमान्ले समेत सामाजिक सुरक्षा भत्ता लिन्छन्, तर उनीहरुको आवश्यकता त्यतिले मात्रै पुरा हुँदैन । त्यसैले गौरीकलाले डोकोलाई साहारा बनाएकी हुन् । श्रीमानलाई सरकारले दिएको सामाजिक सुरक्षा भत्ता उनको व्यवसाय सुरुवातीको साहारा बन्यो । अहिले उनी त्यही व्यवसायमा रमाएकी छन् ।

श्रीमानको साथ

बिहानै डोकोमा तरकारी बोकेर घरघरमा पुग्ने गौरीकलालाई श्रीमान्ले दरिलो साथ दिएका छन् । भण्डारी दम्पति दुवैलाई श्वासप्रश्वासको समस्या छ । त्यसमा पनि उनका श्रीमान् शारिरीक रुपमा अपाङ्गता छन् । लौरीको साहाराले हिँड्ने श्रीमान् र आफ्नो उपचार खर्च जुटाउनकै लागि गौरीकलाले तरकारी र फलफुलको व्यापार गर्न थालेकी हुन् । अहिले उनलाई तरकारीको व्यापार निकै फापेको छ । दिनमा दुई सयदेखि तीनसय रुपैयाँसम्म गौरीकलाले कमाउँछिन् । बुढेसकालका लागि पैसा बचत पनि गरेको उनी बताउँछिन् ।

‘काम नगरी सुख्खै छैन । गौरीकला भन्छिन्, तर यसैमा मलाई रमाइलो छ ।’ गौरीकलाका तीन छोराहरु कालीकोटमै बस्छन् । चिसोको कारण कालीकोटमा बस्न नसकेपछि भण्डारी दम्पति सुर्खेत झरेका हुन् । दिनमा तरकारी बेचेर कमाएको पैसाले अहिले गौरीकलाका श्रीमान्–श्रीमती दुवैलाई उपचार गर्न पुगेको छ । छोरा बुहारीले उनलाई नहेरेका होइनन्, तर उनलाई आफूले सक्ने बेलासम्म अरुलाई दुःख दिन मन लाग्दैन । त्यसैले डोकोमै भए पनि तरकारी बेचेर गुजारा चलाएको उनले बताइन् । गाउँबाट दुःख गरेर खरिद गरी ल्याएको तरकारी किन्दा धेरैजसो ग्राहकहरुले कम मूल्य दिन खोज्छन् । ग्राहकहरुको त्यो व्यवहारले गौरीकलाको मन भने साह्रै दुख्छ । ७० वर्षकी आमाको दुःख देख्ने यो सहरमा अरु कोही छैन जस्तो उनलाई लाग्छ ।

सरकारले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्तावापत मासिक तीनहजार दिने गरेकोमा चालु आर्थिक वर्ष २०७८/०७९ देखि चारहजार रुपैयाँ पु¥याएको छ । काम गर्न नसक्ने ज्येष्ठ नागरिकहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ताले नै गुजारा चलाएका छन् । सक्नेहरुले भत्ताबाटै व्यवसाय सुरु गरी थप बलियो आधार बनाएका हुन् । जसको गतिलो उदाहरण कालीकोटकी ७० वर्षीया ‘ताजा तरकारी’ बेच्ने आमा गौरीकला भण्डारी हुन् ।