
सुर्खेत । लिङ्ग छनौट अन्त्यका लागि निर्माण गरिएको राष्ट्रिय रणनीति २०७८–२०८८ कार्यान्वयनका लागि सरोकारवालाहरुले माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको दशवर्षे रणनीति कार्यान्वयनमा लैजानुपर्ने माग सरोकारवालाहरुले गरेका हुन् ।
शुक्रबार मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्ता खालका रणनीति कार्यान्वयनका लागि कडा कानुनको समेत आवश्यकता भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भौतिक पुर्वाधार विकास मात्रै विकास नभई सामाजिक न्यायमा समेत नीति निर्माण र बजेटको व्यवस्थापन गरी सामाजिक न्यायका प्रत्याभुती नागरिकलाई दिनुपर्ने धारणा राखिन् ।
‘हिँडेपछि पुगिन्छ’ उनले भनिन् “हामीहरुले यो दशवर्षे रणनीति कार्यान्वयनका लागि पहल गर्छौ ।” यसअघि नगरको उपप्रमुखको भुमीका निर्वाह गरीसकेकी ढकालले लैगिंक समानताका लागि नगरमा आँफुले पहिलेपनि छोरी बचत खाता, महिला स्वरोजगार कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिईन् ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरणका लागि ५ वर्षे नीति र त्यसलाई कार्यान्वयन गर्नका लागि रणनीति सहित योजना निर्माण गरेको बताईन् ।
नेपालमा भएको सतीप्रथा अन्त्य भएको १ सय वर्षपछि नेपालमा महिलाहरुका लागि थुप्रै कानुनहरु निर्माण भएको र राज्यका ठुला पदमा महिलाहरु पुग्नुलाई समेत सकारात्मक रुपमा हेरिनुपर्ने धारणा उनले राखिन् ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव कृष्णप्रसाद काप्रीले यस्ता विषयहरु पाठ्यक्रममा राखिनुपर्ने बताए ।
कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले नीति, रणनीति भन्दापनि गल्ती गर्नेहरुलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव देवकुमारी गुरागाईँले सबै मिलेर विभेदपुर्ण लिङ्ग छनौट अन्त्यका लागि लाग्नुपर्ने बताईन् ।
छोरा जन्माउनकै लागि भ्रुणपहिचान गरेर छोरीलाई गर्भपतन गर्ने र छोरा जन्माउने प्रचलन बढ्न थालेपछि दशवर्षे रणनीति नै निर्माण गरी यस्तो अपराध न्युनीकरणका लागि लागिएको उनले बताईन् ।
कृपा लगाएतका संस्थाहरुको समन्वयमा गरिएको कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको थियो ।

फरकबाटो २० श्रावण २०७९, शुक्रबार १९:४८