सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबिच सहमती हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो । बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको संर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि फेरि सहमतिका लागि भोलि बिहान बस्ने भएको छ ।
असार १२ गते एमालेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि असन्तुष्टी जनाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् । एमालेले बजेट तथ्यपरक नभएको, एमालेसँग भएको सहमति विपरित भएको भन्दै शंसोधन गरिनुपर्ने अडान राखेको छ ।
एमालेले १५ लाख मुनिका टुक्रे योजनामा विनियोजन गरिएको बजेट शंसोधन गरिनुपर्ने, सुुदुरपश्चिम प्रदेशका तीन वटा जिल्लामा विनियोजन गरिएको बजेट सच्याउनुपर्ने र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधि अनुसार हुनुपर्ने माग राखेर प्रदेश सभाको बैठक अवरुद्ध गरिरहेको छ ।
सरकार र प्रमुख प्रतिपक्ष दलको आआफ्नै अडानका कारण सहमति नजुट्दा प्रदेशसभा बैठक अनिश्चित भएको छ । सभामुख राज बहादुर शाहीले छलफल सहमतीउन्मुख भएकोले भोलि बस्ने सर्वदलीय बैठकले टुंगो लगाएर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिए ।


फरकबाटो २३ असार २०७९, बिहीबार १५:१९