सुर्खेत । महंगी र भ्रष्ट्राचार विरुद्ध एमाले जनसंगठन संयन्त्रहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । एमाले जनसंगठन संयन्त्रको अगुवाइमा नेकपा (एमाले)ले साउन २८ गते विरोध प्रदर्शन गर्ने भएको हो ।
जनसंगठन संयन्त्रको बुधबार बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ १२ गते कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको भेला बोलाउने निर्णय गरेको छ । सोही दिन पार्टीको प्रदेशस्तरीय प्रशिक्षण समेत गर्ने तयारी गरिएको हो ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक एवं पार्टीका प्रदेश कमिटी उपसचिव टेकराज पछाईको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष विनोदकुमार शाह र स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलले आ–आफ्नो भनाई राखेका थिए ।
इञ्चार्ज कँडेलले जनसंगठनहरुमा सांगठनिक अराजकता बढेको भन्दै आफूखुसी संगठन चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले सरकार अराजक बनेको र नागरिकहरुको ढाड सेक्नेगरी महंगी बढेकोले यसको विरोध गर्नु कर्तव्य रहेको बताए ।
यस्तै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले जनसंगठनहरु पार्टीको शक्ति एवं नेता उत्पादन गर्ने संयन्त्र रहेको भन्दै जनसंगठनलाई व्यवस्थित, अनुशासित र चलायमान बनाउने कुरामा ध्यान दिन आग्रह गरे ।
फरकबाटो १७ श्रावण २०७९, मंगलवार १८:५२