कर्णाली सरकारद्वारा ३३ अर्बभन्दा बढीको बजेट सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजारको बजेट सार्वजनिक गरेको छ । जसमा चालूतर्फ नौ अर्व २० लाख २४ हजार र पूँजिगततर्फ १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रहेको छ । शुक्रवार कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेशको मुख्य समस्या गरिवी अन्त्यका लागि वार्षिक दश हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ अभियान मार्फत कर्णाली समृद्धि अभियानलाई परियोजनाको रुपमा अगाडि बढाइने मन्त्री सिंहले बताए । उक्त परियोजनाका लागि एक अर्ब ५० करोड बजेटको विनियोजन भएको छ ।

यस्तै कर्णालीमा भौतिक पूर्वाधार, यातायात र सहरी विकासका लागि १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन भएको छ । यस्तै सांसद विकास कोषले निरन्तरता पाएको छ । उक्त कोषका लागि एक अर्व ३६ करोट बजेट विनियोजन भएको मन्त्री सिंहले बताए ।

यस्तै कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न ८५ करोड, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्ता, प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गनै र तला थपका लागि ५५ करोड ५६ लाख विनियोजन गरिएको छ । कर्णालीको प्रमुख पर्यटकिय क्षेत्र रारा र से-फोक्सुन्डो ताल जोड्ने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन भएको छ ।