बजेटमाथि असन्तुष्टि राख्दै एमालेको विरोध, प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट माथि प्रमुख प्रतिपक्ष दल एमालेले असन्तुष्टि व्यक्त गर्दै विरोध गरे पछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

एमालेका प्रदेश सभा सदस्यहरुले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आइतबार बसेको १८ औं बैठकमा उभिएर नै विरोध जनाए पछि सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमाले संसदीय दलका नेता यामलाल कंडेलले सरकारले आफुहरुसँगको सम्झौतालाई बेवास्ता गरेको, असन्तुलित बजेट ल्याएको भन्दै चर्को आलोचना गर्नुभयो ।

आगामी वर्षको बजेटमा मन्त्रालयगत छलफल गर्ने बैठकमा कार्य सूचि रहेको थियो । बैठक सुरु भएलगत्तै नेता कंडेलले बजेटमाथि असन्तुष्टी व्यक्त गर्दै सरकारको आलोचना गर्नुभयो ।

उहाँले यही अवस्थामा प्रतिपक्षको हैसियतले सरकारलाई सहयोग गर्न नसकिने बताउनुभयो । सभामुख राजबहादुर शाहीले प्रदेशसभा सदस्यहरुलाई बस्न पटक पटक आग्रह गर्दा पनि उभिएर विरोध गरिरहे पछि सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको थियो ।