कर्णालीका विद्यार्थीलाई संधैको किताब पिरलो

सुर्खेत । अमरज्योती नमुना माध्यामीक विद्यालय नेवारे सुर्खेतमा कक्षा एक देखी पाँच सम्म दुईसय विद्यार्थी छन् । उक्त कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि करिब ६० प्रतिशत किताब आईपुगेका छन् । केही विद्यार्थीले किताब प्राप्त गरेपनि सबै विषय भने प्राप्त गर्न सकेका छैनन् ।

कक्षा छ, सात र आठ मा ६ सय विद्यार्थी छन् । तिनवटै कक्षाका दुई–दुईवटा मात्रै किताब आइपुगेका छन् । कक्षा नौ कालागि कुनैपनि किताब नआएपनि कक्षा दशका भने चारवटा किताब आइपुगेको विद्यालयका प्राध्यापक खगेन्द्र थापाले जानकारी दिए । कक्षा नौ का चारसय र कक्षा दशका चारसय समेतगरि विद्यालयमा जम्मा १ हजार ६ सय विद्यार्थी पठनपाठन गर्छन् ।
तर सबै विद्यार्थीलाई पुग्नेगरी किताब भने अझैपनि आउन सकेका छैनन् । जसका कारण विद्यार्थी र शिक्षकहरु समेत पठनपाठनका लागि अलमलमै छन् ।

उसो त विद्यालयले जेठ १० गतेदेखी नै पठनपाठन सुरु गरिसकेको छ । किताब आइनपुगेपनि पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गरिरहेको प्राध्यापक थापाले बताए ।

‘कक्षा नौको किताबहरु अझैपनि छापिएका छैनन् रे ’ विद्यालयका प्राध्यापक थापाले भने “किताब नभएपनि हामीसंग पाठ्क्रम भएकोले सोही अनुसार पठनपाठन अगाडी बढाएका छौं ।” तर किताब भएजस्तो पठनपाठन सहज तरिकाले अगाडि बढाउन नसकिएको उनले बताए ।

सोही विद्यालयमा अध्यययनरत कक्षा दशका विद्यार्थी हरि चुनाराले समयमै पुस्तक नपाउँदा पढाईलाई अगाडी बढाउन समस्या भएको बताए । उनले शिक्षा क्षेत्रमा राज्य नै गम्भिर नहुँदा समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने तर्क गरे ।

‘समयमै पुस्तक आए परिक्षाको तयारी राम्रो गर्न सकिन्थ्यो ’उनले भने “पुस्तकहरु कहिले आउँछन् टुङगो छैन । अनी कसरी विद्यार्थीको गुणस्तर बृद्धि हुन्छ ? उनले कोरोना भाइरसको माहामारी आयो भने विद्यालय समेत बन्द हुन्छकी भन्ने डर आँफुहरुलाई भएको सुनाए ।

श्री कृष्ण संस्कृत माध्यामीक विद्यालय इत्राम सुर्खेतमा समेत बाह्रसय विद्यार्थी छन् । तर उक्त विद्यालयका विद्यार्थीहरुले समेत सबै किताब प्राप्त गर्न सकेका छैनन् । समयमै किताब नआउँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्राध्यापक यामलाल घिमिरेले बताए ।

‘कुनै विषय आउने कुनै विषय नआउने त नहुनुपर्ने’ उनले भने “ यो पुस्तक पसलको बदमासी पनि होला । तर अर्डर गरेअनुसार पुस्तक पसलहरुले किताब नपाएका पनि हुन्सक्छन् ।”

उनले पाठ्क्रम नफेरिएका कक्षाका विद्यार्थीहरुलाई पुराना किताब पढाउने गरेको भएपनि पाठ्क्रम फेरिएका कक्षाहरुमा भने समस्या भएको बताए ।

कर्णाली प्रदेशमा हरेक वर्षजसो समयमै विद्यार्थीहरुका हातमा किताब पुग्दैनन् । हरेक वर्ष कर्णालीका विकट जिल्लामा किताब नपुगेको विद्यार्थीहरुले गुनासो गर्छन् । यसपटक त राजधानीकै नगरपालिकाका विद्यार्थीहरुले जेठ महिना गुर्जिसक्दा समेत किताब हात पार्न सकेका छैनन् ।

स्थानिय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एउटा विषय स्थानिय तहले नै सांस्कृतिक, भौगोलिक, आर्थिक,ऐतिहाँसिक,धार्मीक, पर्यटकिय, स्वास्थ्य, वातावरणीय लगाएतका विषय समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर वीरेन्द्रनगर नगरपालिकामा भने हालसम्म पाठ्क्रम लेखन प्रक्रियामै रहेको छ । वीरेन्द्रनगर नगरपालिकाका नगरशिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले स्थानिय पाठ्यक्रम निर्माण भएपनि पाठ्यपुस्तक भने लेखन प्रक्रियामै भएको बताए ।

उनले शिक्षकका लागि पाठ्यक्रम भएपछि पनि हुने भन्दै साना विद्यार्थीहरुका लागि पाठ्यक्रम नहुँदा समस्या हुने भएकोले लेखनप्रक्रियामै रहेको बताए । वीरेन्द्रनगर नगरपालिकामा हाम्रो वीरेन्द्रनगर भन्ने स्थानिय पाठ्यपुस्तक लेखन प्रक्रियामा रहेको उनले जानकारी दिए ।

समयमै किताब नआउनुमा जनक शिक्षा सामागी्र नै भएको उनले सुनाए ।

कर्णाली प्रदेशको राजधानीकै नगरको विद्यार्थीहरुको हालत त यस्तो छ भने विकट जिल्लामा बसेर पठनपाठन गर्ने विद्यार्थीहरुको सहजै अनुमान गर्न सकिन्छ ।