सुर्खेत । चालु आर्थिक वर्ष (आव) २०७९र८० को सुरुवाती दिनबाटै गडबड भएको सरकारी वित्तको खाडल अझ बढ्दै गएको छ । आवको ८औं महिना (फागुन) बितिसक्दा सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ५६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँको अन्तर देखिएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
फागुन मसान्तसम्म राजस्व, अनुदान र अन्य आम्दानीमार्फत सरकारले कुल आम्दानी ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ बराबरको गरेको छ । यसबीचमा सरकारको खर्च भने ७ खर्ब ७९ अर्ब २३ करोड १ लाख रुपैयाँ देखिएको छ ।
यस वर्ष चालु खर्चमा तीब्र दबाब र राजस्व प्राप्तिमा आएको संकुचनले आम्दानी र खर्चका बीचमा धेरै अन्तर देखिन पुगेको मन्त्रालयले बताउँदै आएको छ । तीन वटै तहको निर्वाचन यस वर्ष सम्पन्न भएका थिए ।
तर, बाह्य क्षेत्रमा परेको दवाव घटाउन सरकारले आयात निरुत्साहनको नीति यो वर्ष लियो । त्यसपछि अर्थतन्त्रमा समेत केही शिथिलता देखा पर्यो । यसको असर सरकारी राजस्वमा देखियो । जसले समग्र आम्दानी प्रभावित भएको हो । अर्थ मन्त्रालयका अनुसार सरकारको आम्दानी र खर्चमा देखिएको यो अन्तर पुरा गर्न आन्तरिक तथा बाह्य ऋण लिने गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनसम्मको तथ्यांकले राजस्वबाट पुनः चालु खर्च समेत धान्न नसक्ने अवस्था दोहोरिएको छ । यस वर्ष सरकारले राजस्वबाट फागुनसम्म ५ खर्ब ८२ अर्ब ७७ करोड १५ लाख रुपैयाँ प्राप्त गरेको छ । तर, यस अवधिमा चालु प्रकृतिको खर्च ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुगिसकेको छ।
यस अनुसार चालु प्रकृतिको खर्चलाई सरकारले उठाएको राजस्वले धान्न नसक्ने अवस्था आएको हो । सरकारले यस आवमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । फागुन मसान्तसम्म भएको संकलन मात्र ४१.५३ प्रतिशत हो ।
फरकबाटो २ चैत्र २०७९, बिहीबार १२:३५