सुर्खेत । सरकारले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप एचपिभी पनि समावेश गरेको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।
सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । ११ वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
आगामी माघ २२ गतेदेखि एचपिभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाउने तयारी सरकारले गरेको छ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
फरकबाटो २८ मंसिर २०८१, शनिबार १९:४०