काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।
सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।
झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे ।
स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले एक एक गोल फर्काए ।
लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ ।
झापा यसअघिनै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो ।
यस्तै, झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्याउन महत्वपुर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।


फरकबाटो २० जेष्ठ २०७९, शुक्रबार १८:२४