पुलिसले बनायो महिला क्रिकेट टिम, नवौंमा स्वर्ण जित्ने लक्ष्य

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा महिला क्रिकेट टोली निर्माण गरेको छ ।

पुलिसले पहिलो पटक महिला क्रिकेट टोली बनाएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा सहभागी गराउने योजनासहित पुलिसले महिला टोली निर्माण गरेको पुलिसका मुख्य प्रशिक्षक मनोज कटुवालले बताए ।

‘हाम्रो सुरुआती लक्ष्य भनेको नवौं खेलकुदको महिला क्रिकेटतर्फको स्वर्ण नै हो,’ कटुवालले खेलपाटीसँग भने, ‘भविष्यका हरेक प्रतियोगितामा शीर्ष स्थानमा रहने हाम्रो टिमको लक्ष्य रहेको छ ।’

पुलिसको टिममा कप्तान रुबिना क्षेत्री, विकटकिपर ब्याटर काजल श्रेष्ठ, अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय समावेश रहेका छन् ।

‘पुलिसको नियमअनुसार जागिरका लागि योग्य रहेका खेलाडीलाई जागिरकै रुपमा र उमेर बढी रहेका तथा जागिरका लागि योग्य नरहेका खेलाडीलाई करारमा अनुबन्ध गर्ने काम अन्तिम रुपमा रहेको छ,’ प्रशिक्षक कटुवालले भने ।

पुलिसको टिममा हालसम्म १३ जना खेलाडी अनुबन्ध भएका छन् । एक जना खेलाडी थपेर टिमलाई अन्तिम रुप केही दिनमा नै दिने कटुवालले बताए ।

नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । नेपाल एपीएफ क्लबको महिला टिम लामो समय देखि घरेलु क्रिकेटमा सक्रिय रहेको छ ।