रोहितको कप्तानीमा केन्यासँग खेल्दै नेपाल

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।