कर्णाली र सुदुरको विकासमा ‘मिनी पार्लियामेन्ट’ को ध्यान


सुर्खेत । कर्णाली र सुदुरपश्चिम प्रदेशको विकासमा मिनी पार्लियामेन्टको ध्यान गएको छ । प्रतिनिधी सभा विकास तथा प्रविधि समितिले दुवै प्रदेशमा अनुगमन गरेको हो । दुवै प्रदेशको विकासको अवस्था संगै समितिले बाढिले पुर्‍याएको क्षति र राहतको अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमनपछि शुक्रबार सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकास समिति सभापति कल्याणकुमारी खड्काले कर्णालीको हुम्ला जिल्लाका विभिन्न सडकसञ्जाल, पुल तथा अन्य विकासे आयोजनाहरुको अनुगमन गरेको बताईन् । उनले हिल्सा नाका सम्म पुगेर त्यहाँको अवस्थालाई समेत बुझेको सुनाईन् ।

उनले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको विकासमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको भन्दै बजेट विनियोजनका लागि समेत विशेष प्राथमिकता दिनुपर्ने बताईन् । विकासे आयोजनामा भएको बद्मासीलाई कम गर्नको लागि कानुनी रुपमा सरकार बलियो नभएको समेत उनको भनाई रहेको थियो ।

‘सार्वजनिक खरिद ऐननै त्रुटिपुर्ण छ ।’ उनले भनिन् “ निर्माण व्यवसायी तथा कर्मचारीले बद्मासी गरे कारबाही गर्न सकिने अवस्था छैन ।” कानुनी रुपमा बलियो भए मात्रै गलत गर्नेहरुलाई कारबाही गर्न सहज हुने उनले बताईन् ।

गत असोज ३१ देखी कात्र्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाले सुदुरपश्चिम प्रदेशमा बढि क्षति पुर्‍याएको र राहत नपुगेको खण्डमा राहतका लागि सरकारलाई निर्देशन दिने उनले बताईन् ।

सरकारमा बस्नेहरुले पहुँचका आधारमा योजना बाँड्ने प्रवृत्ति छोड्नुपर्ने भन्दै सभापति खड्काले साधनस्रोतकाबारेमा समेत सरकार स्पष्ट हुुनुपर्ने तर्क गरिन् ।