पुरुष भलिबल तथा मुख्यमन्त्री कप छनोट प्रतियोगिता हुने

सुर्खेत  । वीरेन्द्रनगरमा यही कात्तिक १५ गतेदेखि जिल्लास्तरीय पुरुष भलिबल तथा मुख्यमन्त्री कप छनोट प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारेमा जानकारी दिएको हो ।

जिल्लाका नौवटा पालिकाका खेलाडीहरूको सहभागिता हुने प्रतियोगिताबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी मुख्यमन्त्री कपका लागि छनोट हुने जिल्ला खेलकुद विकास समितले जनाएको छ ।

मुख्यमन्त्री कप कर्णाली सरकारको आयोजनामा केही समयपछि सञ्चालन हुँदैछ ।

प्रतियोगिता संञ्चालन गर्न चार लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि कर्णाली खेलकुद परिषद्ले एकलाख ५० हजार सहयोग गरेको छ ।

अध्यक्ष गिरीले प्रतियोगितामा खेलाडीको खाना, बस्न र यातायातको व्यवस्था सम्बन्धित पालिकाले गर्ने जानकारी दिए। सुर्खेतमा यस्ता खाले प्रतियोगिता सञ्चालन गर्न चाहे पनि आर्थिक अभावका कारण सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

यस्तै गत वर्ष प्रतियोगिता सञ्चालन नहुँदा खेलाडीहरूमा निराशा छाएको खेल संयोजक मोतिराम रन्तेलले गुनासो गरे । प्रदेश सरकारले खेलमा लगानी गर्न नसक्दा प्रतियोगिता सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ ।

कर्णालीमा गत वर्ष कोरोना माहामारीका कारण मुख्यमन्त्रीकप हुन सकेको थिएन।