एमालेबाट भेरीगंगा नगरपालिकाको मेयरका उम्मेदवार ढकाल को हुन् ?

सुर्खेत ।  यज्ञप्रसाद ढकाल एमालेबाट भेरीगंगा नगरपालिकाको मेयरका उम्मेदवार हुन् । भेरीगंगा नगरपालिका वडा नं १२ निवासी ढकाल विद्यार्थी राजनीति हुँदै शिक्षण पेशाबाट राजनीतिमा आएका हुन् । ढकाल विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्थे । विस २०३८ सालको आन्दोलन हुँदा उनी कक्षा ८ मा पढ्थे । त्यस बेलादेखि नै राजनीति बुझ्न थालेका थिए । माध्यमिक तहको पढाई सके पछि तत्तकालिन सुर्खेत क्याम्पस (शिक्षा) मा पढ्दै गर्दा अनेरास्वयुको प्रारम्भिक कमिटीको सदस्य बने ।

समाजमा हुने अन्याय, अत्याचार, शोषण, उत्पीडन र भेदभावले गर्दा उनमा यस विरुद्ध विद्रोह र क्रान्ति गर्नुपर्छ भन्ने लाग्थ्यो ।  समाजमा हुने यस्ता विकृति र विसंगति विरुद्ध लाग्नु पर्छ र समाज रुपान्तरण गर्नु पर्छ भनेर राजनीतिमा आएको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिमा आउनुमा मेरो एकदुई वटा कारण छन् । राजनीति खराब मान्छेले गर्ने होइन रहेछ । असल मान्छेले राजनीति गर्ने रहेछ । समाजमा हुने अत्याचार, शोषण, उत्पीडत, गरिब माथि भेद्वभालागयतकायस्ता विकृति र विसंगति छ । यसको विरुद्धमा बोल्न आवश्यक छ । त्यसैले समाज परिवर्तनका लागि राजनीतिमा आए ।’

उनी तत्तकालिन एमाले छिन्चु गाउँ कमिटीको उपसचिव हुँदै सचिव, क्षेत्र नं १ को क्षेत्रीय कमिटी सचिव र जिल्ला कमिटी सदस्य बने । उनले तत्तकालिन छिन्चु गाउँ कमिटीको उपसचिव बने । तीन वर्ष सोही कमिटीको सचिव बने । ६ वर्ष क्षेत्र नं १ क्षेत्रीय कमिटीको सचिव भएर काम गरे । दुई कार्यकाल एमाले जिल्ला कमिटी सुर्खेतको सदस्य बने ।

विस २०४२ सालदेखि उनले २४ वर्ष शिक्षण पेशा गरे । शिक्षा क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ ।  शिक्षण पेशामा हुँदा उनी नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको सदस्य समेत भए । ढकाल हाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य र भेरीगंगा नगरपालिकाका इन्चार्ज छन् । उनले स्नात्तक तहसम्मको पढाई पुरा गरेका छन् ।

समृद्ध नगर, खुशी नगरबासी बनाउँन लाग्छु

अहिले उनलाई पार्टीले नगरको मेयरका लागि उम्मेदवार बनाएको छ । उनी समृद्ध नगर र खुशी नगरबासीको नारासहित आफ्नो चुनावी अभियानमा लागेका छन् । भेरीगंगाको विकास र समृद्धिका लागि उनले सबै भन्दा पहिले सुशासनमा सरकार संचालन गरी सरकारलाई जनउत्तरदायी बनाउने बताए ।

उनले भने, ‘नगरपालिकामा भ्रष्टाचार बढेको छ । जनशक्ति परिचालनको अवस्था अस्तव्यस्त छ । कुनै स्टम छैन् । सुशासन पटकै छैन् । विकास निर्माणका योजना छनोटमा अस्तव्यस्त छ । मेरो पहिलो काम सुशासन कायम गरी बस्तीस्तरदेखि नगरसभासम्म योजना छनोटको कामलाई व्यवस्थित गराउँछु । आफ्नाको भन्दा पनि जनताको सहभागितामा भेरीगंगाको विकासका लागि योजना छनोट गर्छु ।’

उनले नगरको विकास निर्माणलाई व्यवस्थित गर्नका लागि गुरुयोजना तयार गरेर भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटनको विकासका लागि अघि बढ्ने उल्लेख गरे । नगरमा अति गरिब, विपन्न परिवार तथा लक्षित वर्गको उत्थानका लागि विशेष कार्यक्रम, जनताको आवश्यकता पहिचान गरी जनताकै चाहानामा विकास गर्ने बताए । उनले जनप्रतिनिधि जनताका शासक होइन, सेवक हुन् भनेर स्थापित गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए ।

उनले भेरीगंगा नगरपालिका कर्णाली प्रदेशको मुल ढोका भएकाले देशकै उदारणीय र नमुना नगरपालिका गराउने बताए । उनले भने, ‘यो नगरपालिका कर्णाली प्रदेशको मुल ढोका हो । यहाँ राम्रो भयो भने कर्णालीका बारेमा राम्रो सन्देश जान्छ । त्यसैले भेरीगंगालाई देशकै उदरणीय र नमुना नगरपालिका बनाउँन प्रदेश सरकारसँग पनि समन्वय गरेर काम गर्छु ।’