सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले प्रहरी संरचना सार्नमा संघीय सरकारले ध्यान नदिँदा नागरिकको सुरक्षामा थप चुनौती थपिएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा १० जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृत सम्मिलित एक दिने प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठिमा मन्त्री शाहीले प्रहरीका महत्वपूर्ण संरचना स्थापनाका लागि प्रदेश सरकारलाई अधिकार नहुँदा १७ लाख नागरिकको सुरक्षामा थप चुनौती थपिएको बताएका हुन् ।

मन्त्री शाहीले कर्णालीका नाममा लुम्बिनीबाट सञ्चालित प्रहरी संरचना कर्णालीका हुन् या संघीय सरकारका स्पष्ट पार्न आग्रह समेत गरे । उनले यथाशीघ्र ती कार्यालय सार्ने अधिकार प्रदेश सरकारले पाउनुपर्ने माग राखे । शाहीले भने ‘प्रहरीलाई संघको मातहतमा राख्ने कि प्रदेशको भन्ने विषय नै संघीय सरकारले स्पष्ट पार्न सकेको छैन, जसले गर्दा हामीले चाहेर पनि प्रहरीका संरचना निर्माण गर्न सकेका छैनौं ।’
‘नाम कर्णालीको हुने अनि सञ्चालन लुम्बिनीबाट हुने, यो कस्तो खालको न्याय हो ?’ भौगोलिक हिसावले विकट भएकै कारण पनि राज्यले कर्णालीलाई हेपेको गुनासो मन्त्री शाहीको थियो । सीमित स्रोत साधनका बीच प्रहरीले नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा खेलेको भूमिकाप्रति प्रदेश सरकार विश्वस्त रहेको बताए । राजनीतिक र दलीय हस्तक्षेपभन्दा बाहिर रहेर नागरिकको सुरक्षा र अपराधरहित समाज निर्माणमा लाग्न उनले आग्रह गरे ।
हाल कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, डग शाखा, दंगा नियन्त्रण गण लुम्बिनी प्रदेशको नेपालगन्जबाट सञ्चालन हुँदै आएका छन् । जसले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा थप जटिलता थपिएको छ । कर्णालीमा कुनै हिन्सात्मक गतिविधि, आन्दोलनमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्न अन्य जिल्लाहरूबाट थप प्रहरी बल ल्याउनु पर्ने बाध्ययता रहेको छ ।
यस्तै प्रहरी तालिम केन्द्रसमेत नहुँदा तालिमकै लागि पनि नेपालगन्ज धाउनुपर्ने हुन्छ । कर्णालीमा एक सय २३ प्रहरी चौकी, ५३ अस्थायी र ३८ वटा ट्राफिक प्रहरी कार्यालय रहेका छन् । भूगोलको हिसाबले हेर्ने हो भने यो संख्या एकदमै न्यून हो । कर्णालीमा नेपाल प्रहरीको मुख्य चुनौती भौतिक संरचना, दरवन्दी, स्रोत साधन अभाव आदि हुन् ।
यस्तै गोेष्ठिमा बोल्र्दै प्रदेश प्रहरी कार्यालय सर्खेतका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० माधवप्रसाद श्रेष्ठले अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायममा नेपाल प्रहरीले सरकारलाई सघाउदै आएको बताए । सत्य र निष्पक्ष छानविन गरी सत्य बाहिर ल्याउनु प्रहरीको मुख्य काम रहेको उनको भनाइ थियो । समिक्षा गोष्ठिले आगामी दिनमा अपराध अनुसन्धानमा थप टेवा पुग्ने बताए ।
यस्तै प्रहरी नायव महानिरीक्षक (डीआईजी) भिमप्रसाद ढकालले मुलुकमा बढ्दै गएका अपराधलाई सिमित स्रोत र साधानका बीच नेपाल प्रहरीले अपराध नियन्त्रणमा उत्कृष्ट काम गर्दै आएको बताए ।

फरकबाटो १८ श्रावण २०७९, बुधबार १५:०६