नवौँ राष्ट्रिय खेलकुद : नारा, लोगो र मस्कट सार्वजनिक

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज कार्यक्रम गरी गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको नारा, लोगो र मस्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुदका लागि ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय गरिएको छ ।

नारा सुयोग्यराज काफ्लेले रचना गरेका हुन् । त्यस्तै खुला प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गरेको लोगो र मस्कट सार्वजनिक गरिएको छ । पौडेलले लोगोबापत ५० हजार र मस्कटको २५ हजार तथा नारा रचना गर्ने काफ्लेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । छनोट समितिमा मस्कट ३ वटा, लोगो १३ वटा र नारा ७ वटा प्राप्त भएका थिए ।

नवौँ राष्ट्रिय खेलकुद आउँदो जेठ २२ देखि २८ गतेसम्म हुनेछ ।