नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा, अन्तिम खेल मलेसियासँग

सुर्खेत । नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २७० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको थाइल्यान्डले १३.२ ओभरमा सबै विकेटको क्षतिमा ४४ रन मात्रै बनाउन सक्यो ।

आज भएको खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । नेपालका लागि निरज कुमार यादवले ७४, नरेनले ५५, सन्तोष यादवले ४२ र सुर्यन्शु कोइरालाले ४० रन बनाए ।

थाइल्यान्डका दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । इसान बन्जेर्जीले १६ र दनुफोन फुआङयोतपिनितले १२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्तोष यादवले पाँच विकेट लिए ।

उनले ३।२ ओभरमा एक मेडन राख्दै आठ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, अशोक धामीले तीन ओभरमा दुई मेडन राख्दै चार रन खर्चिएर तीन विकेट लिए । अभिशेख तिवारीले दुई विकेट लिए ।

समूह‘‘ए’ मा रहेको नेपालले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको हो । थाइल्यान्डले यसअघि मलेसियासँग हार ब्यहोरेको थियो । नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ ।