
सुर्खेत । राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतस्थित सरकारी तथा सार्वजनिक कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । अनुगमनको क्रममा केही कर्मचारीहरुले समयको पालना नगरेको र तोकिएको पोशाक पनि नलगाएको पाइएको हो ।
सतर्कता केन्द्रले यही पुस ७ र ८ गते सुर्खेतस्थित १३ वटा कार्यालयमा छड्के अनुगमन गरेको थियो । केन्द्रका अनुसार अनुगमनका क्रममा यि कार्यालयमा ११८ जना कर्मचारीहरु अनुपस्थित रहेको र ३१ जना कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको पाइएको छ ।
सतर्कता केन्द्रका प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेलले केही कर्मचारीहरु समयमै कार्यालय नआउने समस्या देखिएको बताए । उनले अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयमा २८ जना, नापी कार्याय र डिभिजन वन कार्यालमा एक/एक जना कर्मचारी अनुपस्थित रहेको पाइएको जानकारी दिए ।
यस्तै उनका अनुसार गुर्भाकोट नगरपालिकामा २३ जना, वीरेन्द्रनगर नगरपालिकामा २२ जना, मालपोत कार्यालयमा १५ जना, भू–तथा जलधार व्यवस्थापन कार्यालयमा नौ जना, खानेपानी , सिंचाई तथा उर्जा विकास कार्यालयमा पाँच जना, कृषि विकास निर्देशनालयमा आठ जना, र यातायात व्यवस्था कार्यालयमा ६ जना कर्मचारी अनुपथित पाइएको छ ।
उनले यि कार्यालयमा अनुगमन गर्दा ३१ जना कर्मचारीहरुले तोकिएको पोशाक नलगाइएको पाइएको जानकारी दिए । अनुगमनका क्रममा नागरिकहरुबाट कर्मचारीहरु समयमै नआउने, कार्यालय ढिलो आएर छिटो निस्कने, सेवा प्रवाहमा ढिलासुस्ती गर्नेलगायतका गुनासो आएको उनको भनाई छ ।
सेवाग्राहीले कर्मचारीहरु कार्यालय समयमै उपस्थित हुनुपर्ने, दरबन्दी अनुसारको कर्मचारी पुरा गर्नेपर्ने, सेवाग्राहीहरुलाई फोटोकपी, खानेपानी, शौचालय, प्रतिक्षालयको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरुले सेवा ग्राहीलाई गर्ने व्यवहार सुधार गर्नुपर्ने सुझाव दिएको उनले जानकारी दिए ।
यस्तै राष्ट्रिय सतर्कता केन्द्रले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको भ्रष्टचार नियन्त्रणः हाम्रो दायित्व विषयक अन्तरक्रिया गोष्ठीमा सहभागि सरोकारवालाहरुले भ्रष्टचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय सतर्ककता केन्द्रका सचिव दिनेशकुमार घिमिरले भ्रष्टाचार नियन्त्रणमा हामी सबैको साझा दायित्व रहेको बताए । भ्रष्टाचार नियन्त्रण एकल प्रयासले मात्र नसकिने भन्दै सबैको साझा दायित्व रहेको उनको भनाई छ । उनले व्यक्तिले नैतिक आचारण र मुल्यमान्यता सुधार गर्नुपर्नेमा जोड दिए ।

गीता थापा ११ पुष २०७८, आईतवार १९:३७