सामीको प्रदेश स्तरिय आवधिक प्रगति समीक्षा तथा कार्ययोजना तर्जूमा कार्यक्रम सम्पन्न


सुर्खेत । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रदेश स्तरिय आवधिक प्रगति समीक्षा तथा कार्ययोजना कार्यक्रम सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सञ्चालन भएको कार्यक्रममा कर्णाली प्रदेशका दश जिल्लाका चवालिस स्थानीय तह र अन्य सरोकारवाला निकायहरुको सहभागीता  रहेको थियो । हिजो शुक्रबारदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रममा रोजगार संयोजक, रोजगार सहायक तथा आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता र मनोसामाजिक परामर्शकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रम र कर्णालीको अवस्था, कर्णाली प्रदेशको श्रम तथा रोजगार नीतीबारे छलफल, मनोसामाजिक परामर्शको अवस्था तथा जानकारी, श्रम स्वीकृति लगायतका विषयमा प्रस्तुतीकरण दिइएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सुरक्षित आप्रवासन सामी कार्यक्रमले वैदेशिक रोजागारमा जान प्रोत्साहन भन्दा पनि सकेसम्म नेपालमा नै रोजगारीको सम्भावना खोज्न प्रेरणा दिने बताए । उनले वैदेशिक रोजगारीमा जानैपर्ने भए नागरिकहरुलाई सुरक्षित जान सुचना र परामर्श दिने, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श समेतका काम सामीले गर्ने उनले बताए । आगामी दिनमा स्थानीय तहहरु नै सुरक्षित आप्रवासनका कार्यक्रमकाबारे अझधेरै जिम्मेवार बन्नुपर्ने अधिकारीले धारणा राखे ।

यस्तै मन्त्रालयका का.मु सचिव शेरबहादुर श्रेष्ठले कर्णाली प्रदेशका नागरिकहरु अधिकाँश भारतमा जाने भएकोले भारत जानेहरुका विषयमा समेत सोच्नुपर्ने बताए । उनले कर्णाली श्रम तथा रोजगार नीती २०७५ बनेपनि कार्यान्व्यनमा नआएको र हाल संशोधनको प्रक्रियामा रहेको भन्दै यस नीतिले कर्णालीको बास्तविक बेरोजगार समस्या समाधान गर्न सघाउ पुग्ने बताए । श्रेष्ठले सरकारको सुरक्षित आप्रवासान (सामी) कार्यक्रममार्फत समेत नेपालमा नै रोजगारीमा प्रोत्साहन हुनेगरी सुचना र परामर्श दिन आप्रवासी स्रोतकेन्द्र परामर्शकर्ताहरुलाई  सुझाव दिए ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यक्रमका श्रम अधिकृत हेमन्त चुनारा, उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयका उपसचिव खिमानन्द अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत लक्ष्मण गिरी र स्वास्थ्य सेवा निर्देशनालयका मनोसामाजिक परामर्शकर्ता लक्ष्मीमाया तामाङ लगायतले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा आगामी कार्ययोजना समेत तर्जुमा गरिएको थियो ।