सुर्खेत । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । उक्त प्रतिवद्धता पत्रमा वीरेन्द्रनगरलाई उपमहानगर पालिका बनाउनेदेखि उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।
वीरेन्द्रनगरलाई महानगरपालिका बनाउनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
यस्तै नगरपालिका उपत्यकामा खानेपानीका लागि भेरी लिफ्ट योजना तीन वर्षभित्र सम्पन्न गरी पर्याप्त खाने पानी व्यवस्था गर्ने, नगर विकास प्राधिकरण गठन गरी नगरको विकासको मोडेल अघि बढाउने, विभिन्न आयआर्जनका कार्यक्रम संचालन गर्ने, कृषिमा यान्त्रिक तथा आधुनिकरणका साथै कृषि उद्योग स्थापना गरी रोजगारी दिलाउने, सहरी सौन्दर्य तथा पर्यटन क्षेत्रको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले नगरको पूर्वाधार विकास गरी व्यवस्थित र शिक्षा स्वास्थ्य तथा वातावरणीय प्रभावले स्वच्छ नगरपालिका गराइने बताए । उनले एमालेले नगरको समृद्धि र विकासलाई प्रतिवद्धता अनुसार अघि बढाउने उल्लेख गरे । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहन माया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ ।
Birendranagar-Municipality-Local-Level-Election-2079_For-Web (1)

फरकबाटो १७ बैशाख २०७९, शनिबार १२:४०