जुम्लामा आठवटै स्थानीय तहबाट एकैपटक एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु 


सुर्खेत । नेकपा एमाले जुम्लाले आठवटै स्थानीय तहमा मंगलबारबाट ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । पार्टी सुदृढिकरण र विस्तारका लागि नेकपा एमालेले यो अभियान सुरु गरेको हो । नेकपा एमाले प्रतिको बुझाई र जनताका समस्या सुन्नको लागि घरदैलोमै पुग्ने अभियानको सुरुवात भएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए ।

उनका अनुसार, नेकपा एमालेका केन्द्रिय प्रतिनिधिहरु २ महिनासम्म जुम्लामै बसेर पार्टीको वास्तविक अवस्था पहिचान गर्ने बताए । केन्द्रिय प्रतिनिधिसँग जिल्लाका प्रतिनिधिहरु पनि साथमा गएका छन उनले भने , यो अभियानले संगठन बलियो हुने र समस्याहरु जस्ताको तस्तै आउने अपेक्षा राखेका छौँ ।

जुम्लाका आठवटै स्थानीय तहमा मंगलबारका दिनबाट सुरु भएको ‘मिसन ग्रासरुट’ अभियानमा केन्द्रिय प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । पातारासी र गुठीचौरमा नेकपा एमालेका केन्द्रिय सदस्य नगिन्द्र शाही (नेशनल), चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा संचार विभाग उपप्रमुख विष्णु रिजाल, तिला र तातोपानी गाउँपालिकामा दक्षिणा शाही, सिंजा र कनकासुन्दरी गाउँपालिकामा केन्द्रिय प्रतिनिधि गेहेन्द्र दाहाल पुगेका छन् ।

तातोपानी गाउँपालिकाको ‘मिसन ग्रासरुट’ अभियानको उद्घाटन सत्रमा बोल्दै केन्द्रिय सदस्य तथा संचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन भएको बताए ।

मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिन खोजिएको उनको भनाइ छ । रिजालले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियान सञ्चालन गरिएको भन्दै पार्टीको विधि र विधान भन्दा बाहिर गएर काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिइने र नसुध्रिएको खण्डमा पार्टी मार्फत अन्य विकल्पहरु अपनाइने बताए ।

केन्द्रिय सदस्य नगिन्द्र शाही (नेशनलले) सिट संख्याको हिसाबमा नेकपा एमाले अलिकति सानो भए पनि जनमतको हिसाबले देशको पहिलो पार्टी भएको बताए । उनले ग्रासरुट अभियान मार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र संगठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिए ।

दुई महिनाको अवधिमा पालिकाभरी पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार सम्बन्धी विषयमा आवश्यक कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा एमाले वडा कमिटीका अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताहरु लगायतको सहभागिता रहेको छ ।