चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बि.क
स्थानिय सरकार स्वायत्त सरकार हो । अझै नागरिकको घरनजिकैको सरकार भएकोले भौगोलिक, सामाजिक अवस्था अनुसार स्थानिय तह आँफैले आफ्ना लागि राम्रो कानुन निर्माण गरेर कार्यान्वयन गर्न सक्छ । स्थानिय तहको नेतृत्वले राम्रो निति कार्यक्रम ल्याउन सक्यो भने पाँचवर्षको कार्यकालमा साँच्चै नै नागरिकको जिवनस्तर बदलिन सक्छ । यसै सन्दर्भमा सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क वि.कसंग हाम्रा सहकर्मी ललिता विश्वकर्मा ओडले चौकुने गाउँपालिकाको पाँचवर्षको योजना के छ र नागरिकको जिवनस्तर उकास्नका लागि कस्तो निती बनेको छ ? भनेर कुराकानी गर्नुभएको छ ।
आजभोली के काममा व्यस्त हुनुहुन्छ ?
भर्खरै बजेट निर्माणको काम सकिएको छ । अब बजेट कार्यान्वयनको तयारीमा छौं । त्यो बाहेक पछिल्लो समयमा मौसम अत्यन्तै प्रतिकुल भएका कारण चौकुने गाउँपालिकामा बाढि पहिरो जस्ता जोखिम निकै बढ्ने अवस्था छ । कर्णाली र भेरी नदिले अधिकतम क्षेत्र ओगटेको चौकुनेमा खोलाहरु बढ्ने र पहिरो जाने खालका समस्याहरु छन् । यस्ता खालका समस्यालाई चनाखोपुर्ण ढङ्गले सबै तिर पहल गर्ने र नागरिकलाई सचेत बनाउने, वडा स्तरबाट पहल गर्नका लागि वडाहरुलाई सोहि अनुरुप निर्देशन दिने काममा नै व्यस्त छु ।
भखरै नेतृत्वमा आउनु भएको छ । नागरिकसंग खुसी बाँड्न जानु भयो त ?
चौकुने गाउँपालिकाका अधिकांश वडामा पुगेको छु । पहिलो चरणमा मलाई मतदान गर्ने नगर्ने सबै नागरिकहरुलार्ई भेटेर नै धन्यवाद दिएको हुँ । खुसी बाँड्ने भन्दा पनि जनताका दुख, पिडा के छन् ? भनेर सबै नागरिकको घर–घरमा पुगेको छु । मेरो खास दायित्व जनताको दुखमा साथ दिने र उहाँहरुको लागि राम्रा कार्यक्रम ल्याएर उहाँहरुको आवश्यकता पुरा गर्ने हो । जनताका दुख–सुखमा साथ दिए हरेक दिन खुसी मनाए सरह हुन्छ ।
तपाईलाई नागरिकले बिश्वास गरेर जिताएका छन् । चौकुनेका नागरिकको समस्यालाई बुझनु भएको छ त ?
म लामो राजनितीक पृष्ठभुमी बाट आएको हुँ । सामान्यतया त चौकुने गाउँपालिकाको समस्यालाई क्रमबद्ध रुपमा बुझ्दै आएको २३ वर्ष भयो । निर्वाचनको प्रक्रियामा फेरीपनि प्रत्येक घर–घरमा गएर उहाँहरुले जसरी आफ्नो समस्या राख्नुभएको छ, ती समस्यालाई लिपीबद्ध गरेर पहिचान गरेको छु । ती समस्याहरुलाई समाधान गर्ने दिशातिर अगाडि बढेको छु ।
चौकुने गाउँपालिकाका समस्याहरु शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, घरेलु हिंसा, बालविबाह, सामाजिक विभेद नै हुन् । कच्ची र खाल्डाखुल्डि भएका सडकहरु जे हिड्न लायक पनि छैनन्् ।
प्रदेश सभाका माननिय सांसद विन्दमान विष्टको पहलमा गएको धाराले केहि बस्तिहरु मा राहत त गर्यो तर पालिकाका दश वटै वटामा खानेपानी पुगेको छैन । अहिले पनि खोला कुवाँबाट ग्रागीमा पानी बोक्ने अवस्था कायम नै छ । चौकुनेका थुप्रै स्वास्थ्य चौकीमा भनेको बखत औषधी पाउन सकिदैँन् । बेरोजगारी समस्याले उग्ररुप लिएको छ । त्यहाँका नागरिक रोजगारको लागि भारत जानुपर्ने अवस्था रहेको छ ।
नागरिकका समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?
चौकुनेका नागरिकको समस्या समाधानको लागि राम्रो निती योजना बनाएर बजेट छुट्याएका छौँ । शिक्षा क्षेत्र चौकुने गाउँपालिकाको ठुलो चुनौती बनेको छ । यो सामाजिक मन्त्रालय अन्र्तगत पर्ने हुँदा शिक्षाको लागी भनेर ३ करोड पचास हजार छुट्याएका छौँ । पछिल्लो समयमा शिक्षा प्रणाली अस्तव्यस्त भएको छ । जसको कारण शिक्षक, व्यवस्थापन समिति ,गाँउशिक्षा समिति र स्थानीय सरकारको लापरबाही ।
यो समस्या समाधानका लागी हामीले शिक्षक नियुक्त गर्दा दक्ष शिक्षक नियुक्त गर्ने र शिक्षाका लागी बजेट व्यवस्था गरेका छौँ । विद्यालयको अवस्था सुधार गर्न जो अस्थाई शिक्षक हुनुहुन्छ, उहाँहरुलाई खाजाको व्यवस्था गर्ने भनेका छौँ । सेवा सुविधा राम्रो भयो भने काम गर्ने क्षेत्रमा तन मन लगाएर काम गर्छन् ।
हामीले प्रत्येक विद्यालयको प्रधानाध्यापकसँग वार्षिक कार्य सम्झौता गर्छांै । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग पनि प्रत्येक चौमासिक कार्य सम्झौता गर्ने निती ल्याएका छौँ । हामीले विद्यालय व्यवस्थापन समितिलाई गर्न लगाएका कामको नतिजा हेर्छौँ र त्यो कामले नतिजा राम्रो ल्याएन भने नयाँ समिति चयन गराएर नयाँ तरिकाले विद्यालय सञ्चालन गर्न लगाउछौँ । त्यो अनुसार हामीले चौकुने गाउँपालिकाको शिक्षा ऐन परिवर्तन गर्दै छौँ । विद्यालयमा भएको रिजल्टको आधारमा शिक्षकहरुलाई प्रोत्साहन गर्ने काम गर्न नसक्ने शिक्षकलाई बिदाई गर्ने प्रक्रियामा जाने छौँ ।
कृषि यति ठुलो क्षेत्र हो जहाँ निकै धेरै रोजगारी सिर्जना हुन सक्छन् । त्यस क्षेत्रलाई विगतको उत्पादन प्रणालीबाट त्यहाँको जीवनस्तर उठ्न नसकेको कुरा महशुस गर्दै अहिले कृषि र पशुपालन क्षेत्रमा थुप्रै बजेट छुट्याएका छौँ । जसका कारण गर्दा रोजगारी सिर्जना हुन्छ । चौकुनेको आर्थिक आम्दानी र त्यहाँको आत्मनिर्भरता तिर लैजानको लागी कृषी र पशुपालनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेका छौँ ।
चौकुने गाउँपालिकामा त सामाजिक समस्या पनि उत्तिकै छ नि हैन र ?
सामान्यतया बालविबाह घरेलु हिंसा डरलाग्दो अवस्थामा छन् । यसको रोकथामको लागी केहीकामहरु गर्ने निर्णय गरेका छौं । घरेलु हिंसाको पहिलो समस्या भनेको अनियन्त्रित लागुपदार्थ सेवन हो । यसको लागि निश्चित उमेर समुहका व्यक्तिलाई निश्चित समय अवधि भित्र मात्र दर्ता भएका पसलबाट मात्र बेच्न पाउने नियामावली बनाएका छौँ । यसलाई कार्यान्वयन तर्फ लैजाने छौँ ।
घरेलुहिंसा हुनुको कारण कानुनको शासन नहुनु हो । प्रत्येक पालिकामा न्यायीक समिति भए जस्तै चौकुने गाउँपलिकामा पनि छ । यसै मार्फत काम गर्ने छौँ । बालविबाह अन्त्यका लागी विभिन्न स्थानीय समुह, सरोकारवालाहरुसँग छलफल गरेर कसरी रोक्न सकिएला , भनेर सामाजिक क्षेत्रमा विभिन्न संस्थाहरुसँग समन्वय गरेर बालविबाह कम गर्नका लागी २८ देखी ३० लाख बजेट छुट्याएका छौँ । छाउप्रथा, लैंगिक विभेद, बहुविवाह, जातीय विभेद लगाएतका कुराहरुको न्युनिकरणका लागि पनि हामीहरुले योजना बनाए अगाडी बढेका छौं ।
अबको ६ महिना भित्र चौकुनेमा के–के काम गर्नुहुन्छ ?
भदौ महिनाको पहिलो साता भित्र रातो किताब निकाल्दै छौँ । पहिलो चरणमा सम्पुर्ण वडाहरुमा वडास्तरीय आम उपभोक्ताहरुको भेला गरेर उपभोक्ताहरुलाई एउटा प्रमाण पत्र उपलब्ध गर्छौं । त्यसमा केही सर्तहरु लेखीएका हुन्छन् । जस्तैः– उपभोक्ता समिति बन्नको लागी के–के आधार चाहिन्छन् । उपभोक्ता समतिमा गठित कार्यसमितीले के–के काम गर्नुपर्छ । कसरी काम गर्ने भनेर त्यसमा लेखीए बमोजिम काम गर्ने शैली सिकाउछौँ । ।
त्यसपछि उपभोक्ता समुहमा बस्न चाहने व्यक्तिलाई मात्र त्यो प्रमाण पत्र दिने छौँ । यो सँगै चौकुनेका प्रत्येक विद्यालयको अनुगमनमा जाने छौँ । अहिले भर्खरै प्रकाशित एस.ई.ई को नतिजा एकदमै डरलाग्दो अवस्थामा देखीएको छ । मा.वि. र नि.मा.वी विद्यालयमा गएर समिक्षा गर्छौँ । साना विद्यालयको त्यहि अनुसार तयारी गर्छौँ । अर्को तिर अहिले बाढी–पहिरोको समस्या भएको हुँदा सबै क्षेत्रलाई परिचालित हुन निर्देशन दिने र सोही अनुरुप काम गर्ने छौँ ।
आगामी वर्षका लागि बजेट निर्माण भइसकेको छ । के कुरालाई प्राथमिकता दिनुभएको छ ?
चौकुने गाउँपालिकाको लागि पहिलो प्रथामिकता शिक्षा हो । यस्तै कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र, वन क्षेत्र, खानेपानी, सामाजिक क्षेत्रका कामहरु बालबिवाह, घरेलुहिँसा छाउप्रथा, लंैगिक विभेद, जातीय विभेद र पुर्वाधार विकास लाई प्राथमिकता दिएको छु । यसमा जनताका आवश्यकता अनुसार उहाँहरुका समस्या के हुन्छन् सोही अनुरुप ती कामलाई प्राथमिकता दिएर जतिसक्दो छिटो समाधान तिर लाग्ने छु ।
अबको पाँच बर्षको योजना के छ ?
पहिलो लक्ष्य भनेको शिक्षा प्रणाली बदल्नु हो । अहिले ५० देखी ७० जना विद्यार्थीले एस.ई.ई दिएका मध्ये पाँचदेखी ७ जना पास भएको रेकर्ड छ । यो भनेको निकै डरलाग्दो अवस्था हो । मेरो प्रतिवद्धता अबको पाँच वर्षमा ५० प्रतिशत विद्यार्थी पास गराउने र शिक्षकहरुलाई समेत समान तलब दिने रहेको छ । जुन विद्यालयमा शिक्षक कम छन त्यहाँ शिक्षकहरुलाई दरबन्दी गरिनेछ । प्रत्येक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था हुन्छ, ।
कृषि क्षेत्र मानौ आज चौकुने गाउँपालिका बाट जति खसी निर्यात भएका छन् त्यसको चार गुणा हुनेछन् । यसका निमित्त हामीले ५० भन्दा बढि बाख्रा पाल्ने किसानहरुका लागी मासिक रुपमा पाँच सय र सय बाख्रा पाल्ने किसानलाई हजारका दरले गोठालो भत्ता दिने कार्ययोजना बनाएका छौँ । यसरी नै प्रत्येकवर्ष अनुसार पाँच वर्षपछि पाँच हजार हुने गरि किसान प्रोत्साहन भत्ता बढाउने छौँ । त्यसपछि किसानले उत्पादन गरेका उत्पादित बस्तुको मूल्य छैन भने त्यसलाई खरिद गरेर बजारको ग्यारेण्टी गर्दिनेछौँ । एउटा चिउरीको बोट लगाउने र हुर्काउने जिम्मा लिनुहोस् र हजार रुपिँया बुझ्नुहोस भनेका छौँ । यसकारण रोजगार सिर्जना हुन्छ साथै आम नागरिकले खाने तेलको सास्ती खेप्नु पर्दैन । सामुदायीक वन क्षेत्रको कार्ययोजना संशोधन गरेर कागती,आँप र लिचीँ जस्ता विरुवा लगाउने प्रावधान ल्याएका छौँ ।
यसलाई सामुदायिक वन भित्रनै किसानले हुर्कायो भने प्रति बोटका दरले पैसा दिने, कृषि क्षेत्रलाई फस्टाएर बेरोजगार समस्या समाधान गर्ने योजना छ । यसै वर्ष गुटु खोलादेखी पश्चिम वेनिघाटसम्म दश हजार केराको बेर्ना रोप्ने लक्ष्य राखेका छौँ । यसको लागी किसानलाई नै प्रोत्साहन दिने कार्ययोजना बनाएका छौ । जसका कारण मासिक दुई चार ट्रक केराहरु निर्यात गरि चौकुनेमा पुँजि भित्रिने खालका योजना छन् । आगामि पाँच वर्षमा ५० प्रतिशत नागरिकको घरमा खानेपानिको धारा हुनेछ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
कुनै पनि निर्वाचित प्रतिनिधिहरु सर्वगुण सम्पन्न हुँदैनन् । त्यसमा म छु भन्ने मलाई लाग्दैन । समाजमा भएका राम्रा क्षमताहरुलाई साथमा लिएर काम गर्यौ भने हामीले कार्य सम्पन्न गर्न सक्छौँ । मलाई माया गरेर यस नेतृत्वको भागेदार बनाउनु भएका चौकुने गाउँपालिकाका बुुद्धिजिवी कर्मचारी, व्यापारी साथीहरु र त्यहाँका आम नागरिकहरुको एउटै अपेक्षा भनेको चौकुने गाउँपालिकालाई राम्रो बनाउने , त्यहाँका नागरिकको जिवनस्तर उकास्ने । जसरी चौकुने बासीले मलाई बिश्वास गरेर यो स्थान दिनु भएको छ, उहाँहरुको बिश्वास कहिल्यै टुट्न दिने छैन र नागरिकको समस्या समाधानको लागि नै म प्रतिवद्ध हुनेछु । मैले अहिले पनि गाउँपालिकाको गाडी चढेको छैन । आफ्नै मोटरसाइकलमा सवार गर्छु । खर्च कटौती, नागरिक सरह जिवनशैली पनि जनप्रतिनिधिको राम्रो पक्ष हो ।
ललिता विश्वकर्मा ओड १६ श्रावण २०७९, सोमबार ०६:३४