जुम्लामा आगलागी : चार जना बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर मृत्यु भएको हो ।

आगलागीमा परि १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

मानसिंह नेपाली र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका र उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गएराति नै आगो निभाइएको प्रहरीले जनाएको छ ।